तीन दिनको वर्षा: सडक र पुलमा २५ अर्बको नोक्सान, ८ वटा पुल बगायो
काठमाडौं । तीनदिनको अविरल वर्षापछिको बाढी र पहिरोले २५ अर्ब रुपैयाँ बराबरको पूर्वाधारमा क्षति पुर्याएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक अनुमान छ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा देशभरका ३४ वटा राजमार्गको ८०५ सडक खण्डमा बाढी पहिरोले अवरोध गरेको उल्लेख छ । हालसम्म सडक विभाग तथा मातहतका निकाय, सुरक्षाकर्मी र प्रदेश र स्थानीय सरकारको सहयोगमा ७७४ ठाउँको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।
हालसम्म ५ वटा राजमार्गमा यातायात खुलाउन नसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोले ८ वटा पुल बगाएको छ । वीपी राजमार्गमा ३ वटा,अरिनको राजमार्गमा २ वटा,कान्ति लोकपथमा दुईवटा, मेची राजमार्गमा एउटा, माइपोखरी सन्दकपुरमा एउटा पुल बगाएको मन्त्रालयले जनाएको छ ।