बाढीमा पसेर दाजुभाईको उद्धार गर्ने तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्मान



काठमाडौं । ललितपुर महानगरपालिकास्थित नख्खु खोलामा असोज १२ गते आएको बाढीले बगाएकामध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल भएका काभ्रे तेमालका चनिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्मान स्वरुप ३० लाख रुपैयाँको बिमा गर्दै ११ हजार रुपैयाँ नगद दिएको छ ।

काभ्रे तेमाल गाँउपालिका-९, चोपाटारका स्थायी बासिन्दा ३७ वर्षीय तामाङ हाल ललितपुर महानगरपालिका-२५ मा बस्दै आएका छन् । सोही क्षेत्रमा रहेको नख्खु खोलामा असोज १२ गतेको बाढीले बगाउँदै गरेका दुई व्यक्तिलाई उद्धार गरेपछि उनी चर्चामा आएका हुन् ।

यही बुधबार कम्पनीको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उनलाई सम्मान गर्दै नगद रकम हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत प्रसाईले तामाङलाई ‘रियल हिरो’को संज्ञा दिँदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए ।

कार्यक्रममा उद्धारकर्ता तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य नभएर बाढीमा हामफालेर दुई जनालाई बचाउन सफल भएको प्रतिक्रिया दिए । साथै यस किसिमका सम्मानले आफूलाई हौसल प्रदान गरेको र आम मानिसमा मानवीयता विकास हुने उनले बताए ।


क्लिकमान्डु