रायमाझीको अध्यक्षतामा मर्चेन्ट बैंकर एसोसिएसनको नयाँ कार्यसमिति चयन



काठमाडौं । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औं वार्षिक साधारणसभाले एनआईसी एशिया क्यापिटल लिमिटेडका रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबार दिउँसो काठमाडौँको नक्सालमा साधारणसभा सम्पन्न भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडका मनिस नारायण जोशी चयन भएका छन् भने महासचिवमा गरिमा क्यापिटल लिमिटेडका निर्मल भट्टराई र कोषाध्यक्षमा एनआइएमबी एस क्यापिटल लिमिटेडका शिवान्त ब. पांडे चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा सिद्धार्थ क्यापिटल लिमिटेडका सन्दीप कार्की, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका लेखनाथ पोखरेल, कुमारी क्यापिटल लिमिटेडका पुष्पा शर्मा चयन भएका छन् ।

साधारणसभामा विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू पनि सहभागी थिए । पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा नयाँ कार्यसमितिले आफ्नो ध्यान केन्द्रित गर्ने एसोसिएसनले जनाएको छ ।


क्लिकमान्डु