पाँचथरमा पहिरोले पुरिँदा ५ बेपत्ता, आमाछोरीसहित ३ जनाको मृत्यु



काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोले पाँचथरको फिदिममा ३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । फिदिमका विभिन्न ठाउँमा पहिरोले ३ जनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

फिदिम-१ मा गएको पहिरोमा परी स्थानीय ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ । यस्तै फिदिम ४ स्थित घरमा सुतिरहेका बेला पहिरोले थिच्दा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्माको घट्नास्थलमै मृत्यु भएको हो ।

यस्तै फिदिम-१ फेमेखोला नजिकै पहिरोले कृष्ण दाश, कमला दाश, राजेश तुम्बापो, उनकी पत्नी सरस्वती तुम्बापो र धनकुमार तुम्बापो बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि नै परेको अविरल वर्षाले पाँचथरसहित ताप्लेजुङ र तेह्रथुमको पनि जनजीवन अस्तव्यस्त बनाएको छ । पहाडी सडकका पुलहरु बगाउँदा आवतजावतमा कठिनाइ भएको स्थनीयहरुले बताएका छन् । मेची राजमार्गको हेवा खोलामा रहेको पक्की पुल नै बाढीले बगाउँदा आतजावतमा कठिनाइ भएको छ ।


क्लिकमान्डु