भारतमा सामसुङ कम्पनीका कामदारहरु आन्दोलित, यस्ता छन् माग



एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्समा आबद्ध करिब १ हजार ५ सय कामदारहरुले भारतको तमिलनाडुमा हडताल गरिरहेका छन् ।

विभिन्न माग राख्दै कामदारहरुले ११ दिनदेखि निरन्तर हडताल गर्दा कम्पनीको उत्पादनमा पनि ठूलो अवरोध आएको छ ।

चेन्नइ सहरस्थित सामसुङको प्लान्ट भारतमा रहेका सामसुङका दुई फ्याक्ट्रीमध्ये एक हो । जहाँ २ हजार कामदार कार्यरत छन् । जसले घरेलु उपकरणहरू उत्पादन गर्नुका साथै भारतमा कम्पनीको वार्षिक १२ अर्ब राजस्वमा एकतिहाइ योगदान गर्दै आएको छ ।

१७ वर्ष पुरानो सामसुङको फ्याक्ट्री नजिकै रहेको खुला मैदानमा कामदारहरु हरेक दिन भेला भएर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

कामदारहरुले नवगठित श्रम युनियन ‘इन्डिया लेबर वेलफेयर युनियन’ लाई कम्पनीले मान्यता दिनुपर्ने मुख्य मागको रुपमा अगाडि सारेका छन् । कामदारहरुका तलब, कार्य समय तथा सुविधा सम्बन्धी विषयमा श्रम युनियनले मात्रै व्यवस्थापन पक्षसँग मध्यस्तता गर्न सक्ने उनीहरुको तर्क रहँदै आएको छ ।

पछिल्ला वर्षहरुमा देखिएका श्रम प्रदर्शनहरुमध्ये सामसुङका कामदारहरुको यो आन्दोलन सबैभन्दा ठूलो रहेको पनि बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई उत्पादनमूलक गतिविधिका लागि चीनको विकल्पको रूपमा कोरियाबाट लगानी खोजिरहेका बेला चेन्नइमा कामदारहरुले आन्दोलन गरेका हुन् ।

यससँगै सामसुङ इन्डियाले विज्ञप्ति जारी गर्दै आफ्ना कामदारहरुको सेवासुविधा उच्च प्राथमिकता रहेको जनाएको छ । ‘हामीले चेन्नई प्लान्टमा हाम्रा कामदारहरूसँग सबै समस्याहरू चाँडो भन्दा चाँडो समाधान गर्न छलफल सुरु गरेका छौं, सामसुङ इन्डियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनको क्रममा एक सयभन्दा धेरै प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ समेत गरेको थियो । तर उनीहरु बुधबार साँझ नै रिहा भइसकेका छन् ।


क्लिकमान्डु