क्यानडाले फेरि कटौती गर्दै ‘पर्मिट’, नेपाली विद्यार्थीलाई कस्तो असर ?
एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक महत्त्वपूर्ण घोषणा गरे । यो घोषणासँगै अब क्यानडा पढ्न जाने विदेशी विद्यार्थीहरुमा थप समस्या देखिने भएको छ । यसबाट नेपाल, भारत लगायतका देशबाट पढाइसँगै कमाउन जाने युवाहरुलाई पनि मुस्किल पर्ने देखिएको छ ।
ट्रुडोले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि दिइने ‘वर्क पर्मिट’मा कटौती गरेका हुन् । उनले हालै गरेको नयाँ घोषणासँगै अब आगामी वर्षदेखि विदेशी विद्यार्थीहरुको पर्मिटमा थप कटौती हुनेछ । यसबारे उनले सामाजिक सञ्जाल एक्समा पनि पोस्ट गरेका छन् ।
प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘हामी यस वर्षदेखि नै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ३५ प्रतिशत कम पर्मिट दिइरहेका छौं । आगामी वर्षदेखि १० प्रतिशत थप कटौती गरिनेछ ।’ क्यानडाका प्रधानमन्त्रीले आप्रवासनबाट आफ्नो देशको अर्थव्यवस्थालाई लाभ मिलिरहेको पनि उल्लेख गरेका छन् ।
तर केही खराब मान्छेहरुले सिस्टमको गलत फाइदा गरेर विद्यार्थीहरुको फाइदा उठाइरहेको पनि प्रधानमन्त्री ट्रुडोको भनाइ छ । र त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्ने पनि उनले बताएका छन् । क्यानडाले यसअघि कलेजको पढाइपछि कामको खोजीका लागि पर्मिट दिने गरेकोमा कटौती गरेको छ ।
यससँगै डिपेन्डेन्टमा आफ्नो श्रीमान वा श्रीमतिलाई कामका लागि लैजान पनि कडा नियम ल्याएको छ । स्नातक तह अध्ययनका लागि त यो लगभग असम्भव जस्तै छ । मास्टर्स डिग्री तहको अध्ययनको हकमा भने यो लचिलो छ ।
नेपाली विद्यार्थीलाई पनि असर
हरेक वर्ष ठूलो संख्यामा नेपालसहित विभिन्न देशबाट पढाइ र कमाइका लागि क्यानडा जाने गर्छन् । यस्तैमा क्यानडा सरकारको नयाँ योजनाले त्यस्ता युवाहरुलाई थप कठिन हुने देखिएको छ ।
हरेक वर्ष हजारौं नेपालीहरु अध्ययनका लागि क्यानडा जाने गरेका छन् । गत वर्ष मात्रै विभिन्न देशबाट क्यानडा जाने विद्यार्थीहरुको संख्या १० लाख ४० हजार थियो । जुन संख्या अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढी हो ।
आम क्यानडाका विद्यार्थीहरुको तुलनामा विदेशी विद्यार्थीहरुले तुन गुणा धेरै शुल्क तिर्नुपर्ने हुन्छ । क्यानडा सरकारको तथ्यांक अनुसार २०२२ मा विदेशी विद्यार्थीहरुले क्यानडाको अर्थव्यवस्थामा २२ अर्ब क्यानेडियन डलरको योगदान दिएका थिए ।
पछिल्लो समय क्यानडा र भारतबीच विवाद बढेपछि त्यसको असर नेपालसहित दक्षिण एसियाली देशबाट क्याडा जान चाहने युवाहरुमा परिरहेको छ ।
यसबीचमा क्यानडाले भारतस्थित दूतावासका कर्मचारी संख्या पनि कटौती गरिसकेको छ । यससँगै विदेशी विद्यार्थीहरुलाई दिँदै आएको वर्क पर्मिट पनि कटौती गर्दैआएको हो । क्याडाका कलेजहरुले विदेशी विद्यार्थीहरुबाट महंगो शुल्क लिएर पनि सरकारलाई करमा अपेक्षाकृत योगदान नगर्दा सरकार पछिल्लो समय विदेशी विद्यार्थीप्रति अनुदार देखिँदैआएको छ ।