दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय हुन सकेन, १० गतेबाट खोल्न सरकारको प्रस्ताव
काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खोल्न विषयमा सरकार र व्यवसायीबीच मतभेद हुँदा अझै टुंगो लाग्न सकेको छैन ।
बुधबार यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्ताकर्मीलगातको बैठक सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको थियो ।
व्यवसायी र सरकारबीच सहमति हुन नसकेपछि बैठक शुक्रबारका लागि सरेको छ । ‘छलफल भएको थियो । यसअघि पनि फूलपातीको एक साताअघि खोल्ने चलन रहेछ,’ यातायात मन्त्रालयका सहसचिव सुशिलबाबु ढकालले भने, ‘विगतमा भएका सबै राम्रा असफल अभ्यासहरुलाई आत्मसाथ गर्ने निर्णय भएको छ । हामी अर्को बैठक बसेर टुङग्याउछौं ।’
स्रोतकाअनुसार बैठक चलिरहेका बेला यातायातय मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मा ‘बिडारी’बैठकको बीचमै उठेर हिडेका थिए । अर्को महत्वपूर्ण बैठकमा जान परेको भन्दै उनीहरु हिँडेका थिए । उनीहरु हिँडेपछि व्यवसायीहरु पनि अर्को बैठकमा मन्त्री र सचिवलाई समेत राखेर सहमति गर्ने निष्कर्षमा पुगेका थिए । त्यसपछि बैठक स्थगित भएको हो ।
यसपटकबाट टिकट काट्नका लागि परिचय खुल्ने कागजात अनिवार्य गरिएको छ । त्यसलाई कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको सहसचिव ढकालले बताए । उनकाअनुसार अनुगमन प्रणाली प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।
यातायात व्यवसायीहरुले सडकको अवस्था बेहाल रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सडकको बेहाल अवस्था रहेका कारण तत्कालै मर्मतको माग गरेका थिए । कुनै पनि हिँड्न लायक नभएको उनीहरुको गुनासो थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंअघि नै सबै खाल्डाखुल्डी पुरिसक्ने प्रतिबद्धता जनाएको थियो ।
त्यसै गरी व्यवसायीहरुले राइड सेयरिङ नियमनको विषय समेत उठाएको थिए । उनीहरुले लामो समयदेखि राइड सेयरिङ बन्द गर्न माग गर्दै आएका छन् ।
दशैं लगायतका पर्वमा काठमाडौं लाखौं मानिसहरु बाहिरिन्छन् । लामो दूरीमा यात्रा गर्नेहरुका लागि व्यवसायीहरुले अग्रिम बुकिङ खोल्ने गर्छन् । अघिल्ला वर्षहरु एक महिना पहिलेदेखि नै बुकिङ खोल्ने विषयमा छलफल हुने गरेको थियो ।
यो वर्ष दशैं सुरु हुन १५ दिन बाँकी हुँदा समेत अग्रिक टिकटको बुकिङ टुंगो लागेको छैन । यातायात व्यवसायीहरुले सडकको अवस्थाका कारण तोकिएको समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था नरहेको गुनासो गरेका छन् । उनीहरुका अनुसार यात्रुहरुले समय पुर्याउन नसकेको भन्दै गाली गरे पनि सडकका कारण यस्तो अवस्था आएको हो ।
देशभरी सबै राजमार्ग निर्माणाधीन अवस्थामा रहेका कारण यस्तो अवस्था आएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले १० गते अग्रिम बुकिङ खोल्न व्यवसायीहरुलाई अनुरोध गरेको बताए । ‘बैठक बसिरहेको थियो । म निस्किएँ । सम्भवत १० गतेदेखि खुल्छ होला,’ उनले भने ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले प्रारम्भिक छलफल भएको बताए । ‘मसिनो गरी छलफल गरी छलफल गर्ने निर्णय भएको छ । सबैलाई गृहकार्य गरेर आउन भनिएको छ । सडकको बेहालको अवस्थाको विषय उठाएका छौं,’ सिटौलाले भने, ‘पर्सी बस्ने बैठकले निर्णय गर्छ । ‘
यातायात व्यवसायीहरुले दशैंको टिकट अनलाइनमा किन्न आग्रह गरेका छन् । उनीहरुले लाइनमा बसेर दु:ख नगर्न आग्रह गरेका हुन् ।
तर यातायात व्यवसायीहरुले अन्तिम समय मात्रै सरकारसँग बार्गेनिङ गरेर टिकट खोल्ने निर्णय गर्छन् । जसका कारण सर्वसाधरण रातभर लाइन बसेर टिकट काट्न बाध्य हुने गरेका छन् । हरेक वर्ष बसपार्कहरुमा रातभर लाइन लाग्ने गर्छ ।