
काठमाडौं । सीमा रक्षाका लागि अभियान चलाउँदै आएका अभियन्ता फणिन्द्र नेपालको एक्स (ट्विटर) ह्यान्डल खारेज गर्न भारत सरकारले सामाजिक सञ्जाल एक्स लाई पत्र लेखेको खुलासा भएको छ ।
फणिन्द्र नेपालले एक्समा गरेका पोस्टहरुले भारतको सूचना प्रविधि ऐन २००० को उल्लंघन गरेको भन्दै भारतले पत्र लेखेको बुझिएको छ । एक्सले भने अभियन्ता नेपाललाई यसबारे इमेलमार्फत जानकारी दिएको छ ।
नेपाललाई भारत सरकारले लेखेको पत्रमा भनिएको छ, ‘पारदर्शिताका लागि हामी यो जानकारी गराउँदैछौं कि तपाईंको एक्स एकाउन्ट हटाउन भारत सरकारबाट कानुनी रुपमा माग भएको छ ।’
यस क्रममा अभियन्ता नेपाल भने यस विषयमा नेपाल सरकारले पनि भारतसँग जवाफ माग गर्नुपर्ने बताएका छन् । भारत सरकार आफूविरुद्ध खनिएको भन्दै यसबारे नेपाल सरकारले पनि बोल्नुपर्ने उनको गुनासो छ ।
यसलाई अभियन्ता नेपालले देशविरुद्ध नै प्रहार भएको रुपमा व्याख्या गरेका छन् । ‘म एन्टी इन्डियन होइन, प्रो नेपाल हुँ । तर, परिस्थिति कस्तो भयो भने प्रो नेपाल हुनु चाहिँ एन्टी इन्डियन हुन्छ,’ फणिन्द्र नेपालले भनेका छन् ।
सुगौली सन्धिमार्फत् भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूभाग फिर्ता गर्नुपर्ने भन्दै फणिन्द्र नेपालले वर्षौंदेखि ग्रेटर नेपाल अभियान चलाउँदै आएका छन् । यसअघि भारतीय उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउँदा विरोध प्रदर्शन गरेका कारण उनी पटक पटक पक्राउ पर्दै आएका छन् । यससँगै अभियन्ता नेपालले आफूलाई बारम्बार भारतीय पक्षबाट धम्की आउने गरेको बताउँदै आएका छन् ।
प्रतिक्रिया