ब्याजदर घटाउन बैंकको प्रतिस्पर्धाः २ वटाले बढाउँदा १० बैंकले घटाए, ८ वटाको स्थिर



काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिना लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोज महिनाका लागि उनीहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत ६.३५ प्रतिशत कायम गरेका हुन् । भदौको तुलनामा असोजमा यस्तो औसत ०.१४७ प्रतिशत बिन्दुले घटेको हो ।

भदौमा बैंकहरुले निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.५०३ प्रतिशत थियो ।

सोमबार प्रकाशित ब्याजदरअनुसार सञ्चालमा रहेका २० वटा बैंकमध्ये सरकारी २ वटा बैंकले ब्याजदर बढाएका छन् भने १० वटा बैंकले ब्याजदर घटाए । बाँकी ८ वटाको भने स्थिर रहेको छ ।

ब्याजदर बढाउनेमा नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुनु र कर्जाको माग न्यून हुँदा अधिकांश बैंकले ब्याजदर घटाइ रहेका छन् । केहीले भने स्थिर राखेका छन् ।

कुनै समयमा ब्याजदर बढाउन हुने गरेको प्रतिस्पर्धा अहिले घटाउनेतर्फ बढी रहेको छ । ब्याजदर घट्दा कर्जा लिनेलाई राहत मिलेको छ । यता मुद्दती निक्षेपमा राखेर ब्याज खानेहरुलाई भने घाटा नै रहेको छ ।

असोजका लागि ब्याजदर घटाउने बैंकहरु सिटिजन्स बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंक रहेका छन् । ब्याजदर स्थिर राख्ने बैंकहरु ग्लोबल आइएमई, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, सिद्धार्थ र स्टयान्डर्ड चार्टर्ड रहेका छन् ।


क्लिकमान्डु