बन्द भए चितवनका इटा उद्योग



फाइल

चितवन । गुणस्तरीय इटा उत्पादन हुँदै आएको यहाँका सबै इटा उद्योग बन्द भएका छन् । २० वर्षअघिसम्म ४४ इटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।

नेपाल इटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एकपटक इटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् ।

उनले भने, ‘गत वर्षदेखि नै यहाँका उद्योग बन्द भए भन्दा हुन्छ ।’ एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उनले हजारौं मजदुरको रोजिरोटी बन्द भएको र करोडौं रुपैयाँ उद्योगले नोक्सान बेहोरेको बताए।

चितवनको इटा राम्रो इटाको रुपमा चिनिन्थ्यो । चितवन र छिमेकी जिल्लामा यहाँबाटै इटा लैजाने गरिन्थ्यो । अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इटा ल्याएर बिक्री वितरण गरिँदै आएको छ ।

सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिस्पर्धा हुनु, बाहिरबाट ल्याइएका कम गुणस्तरका इटा प्रयोगमा आउनु, घनाबस्ती बढ्दै जानु, माटोको अभाव हुनु, स्थानीयले अवरोध गर्नु लगायतका कारण उद्योग बन्द हुन पुगेका हुन् ।

सरकारले माटोमा अन्तःशुल्क लगाउँदा मूल्य बढेर पनि प्रभाव परेको इटा उद्योग सङ्घ चितवनका अध्यक्षसमेत रहेका सापकोटा बताउँछन् । यस्तै अवस्थामा पुनः उद्योग सञ्चालन हुने अवस्था निकै कम रहेको उनको भनाइ छ । जिल्लामा विगत ४० वर्षयता व्यावसायिक रुपमा इटा उद्योग सञ्चालनमा रहेका थिए ।


क्लिकमान्डु