लघु, साना तथा मझौला कृषि उद्यमका समस्याबारे सहकार्य आवश्यक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठिमा प्रमुख अतिथि रहेका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१ र २०९१ मनाउन लागेको भन्दै कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास गरिएको बताए ।

यस्तै समारोहको अध्यक्षता गरेका महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरूले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरूको निराकरण गर्न सबै पक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए ।

महासंघ सधैँ लघु, साना तथा मझौला उद्यमीहरूलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरूका लागि, स्थापना कालदेखि नै कार्य गर्दै आएको उनको भनाइ थियो ।

युएसएआइडीको सहयोगमा सीवाइएमएमवाइटीद्वारा सञ्चालित नेपाल सेड एण्ड फर्टीलाइजर प्रोजेक्टले लघु, साना तथा मझौला उद्यमहरूलाई सहयोग कार्यक्रम सञ्चालनका लागि एफएनसीसीआइ र एसीइसँग सहकार्य गरेकोमा अध्यक्ष ढकालले धन्यवाद व्यक्त गरे ।

एनएसएफ परियोजनाले नेपालको कृषि रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरिरहेको, यसले मकै लगायतका बालीहरुलाई गर्ने प्रवद्धनबाट देशमा वर्षेनि बढ्दै गएको मकैको मागलाई सम्बोधन गर्न योगदान पुर्याइरहेकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गर्दै यस्तोमा सीआइएमएमवाइटीले नेपालमा मकैको बिउ सुधारका साथै उत्पादन र उत्पादकत्व वृद्धिका लागि कार्य गर्ने गरी एनएसएएफ परियोजना सञ्चालन गर्नु सुखद रहेकोले यस्ता परियोजनाहरू निरन्तर सञ्चालित हुनपर्ने बताएका थिए ।

निजी क्षेत्रको प्रतिनिधको रुपमा आवश्यक पर्ने सहयोगका लागि सधैँ तत्पर रहको भन्दै अध्यक्ष ढकालले व्यवसाय मैत्री वातावरण श्रृजनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आवश्यकता लाई सहकार्यको आह्वान समेत गरेका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डिबी बस्नेतले एईसीले गरेको कामहरुको बारेमा उल्लेख गरेका थिए ।


क्लिकमान्डु