११९ खर्ब ५६ अर्बसहित एलिस विश्वकै सर्वाधिक धनी महिला



एजेन्सी । वालमार्ट कम्पनीकी उत्तराधिकारी एलिस वाल्टनलाई फोर्ब्सले विश्वकै सर्वाधिक धनी महिला घोषणा गरेको छ । ७४ वर्षीया एलिस वालमार्टका संस्थापक अमेरिकी अर्बपति साम वाल्टनकी छोरी हुन् ।

प्रसिद्ध अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले हालै उनलाई सबैभन्दा धनी महिलाको रुपमा सूचीकृत गर्दै उनको सम्पत्ति ८९ अर्ब १० करोड अमेरिकी डलर (११९ खर्ब ५६ अर्ब रुपैयाँ) रहेको उल्लेख गरेको छ ।

एलिसभन्दा पहिले, विश्वको सर्वाधिक धनी महिलाको रुपमा फ्रेन्च लोरियल उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट थिइन् । जुन महिनासम्म बेटेनकोर्ट सबैभन्दा धनी महिला थिइन् । फोर्ब्सका अनुसार उनको साथमा ८८ अर्ब ४० करोड अमेरिकी डलर पुँजी छ ।

पछिल्लो समय बेटेनकोर्टलाई पछि पार्दै एलिस सबैभन्दा धनी बनेकी हुन् । यसबीचमा उनले थप सम्पत्ति जोडेको पनि बताइएको छ । टेक्सासको बासिन्दा रहेकी एलिस विश्वकै सर्वाधिक धनी महिला भए पनि टेक्ससकै सबैभन्दा धनी व्यक्ति भने हैनन। जवकि अर्का अर्बपति एलन मस्क पनि टेक्ससकै बासिन्दा हुन् ।

एलिसका भाइ र बहिनी रोब र जिम वालमार्टका लागि काम गर्छन् भने एलिस आफैं त्यसको विपरीत कला सिर्जनाको क्षत्रमा सक्रिय छिन् ।

एलिसले बाल्यकालमा वाटरकलरबारे जानकारी पाएदेखि नै कला सिर्जनाको क्षेत्रलाई माया गर्दै आएकी छन् । उनले ट्रिनिटी विश्वविद्यालयबाट आर्ट्स डिग्रीमा स्नातक गरेकी छन् । साथै उनले युनिभर्सिटी अफ अर्कान्सासबाट मानार्थ विद्यावारिधिको उपाधि पनि पाएकी छन् ।

यसैगरी उनी ‘अमेरिकन आर्ट एन्ड द एलिस एल वाल्टन फाउन्डेसन’को ‘क्रिस्टल ब्रिज म्युजियम’को संस्थापक समेत हुन् । उनले कलामार्फत सबैका लागि शिक्षा, स्वास्थ्य र आर्थिक अवसर सिर्जना गर्दै आएकी छन् । यसबीचमा उनले हार्टल्यान्ड होल हेल्थ इन्स्टिच्युटको पनि स्थापना गरेकी थिइन् ।

एलिसले भनेकी छन्, ‘म मानिस र समुदायहरूलाई उनीहरूको सपना प्राप्त गर्न मद्दत गर्ने अवसरहरू सिर्जना गर्न चाहन्छु। यो मेरो जीवनको आनन्द हो, र त्यसो गर्न पाउनु मेरो अधिकार पनि हो ।’


क्लिकमान्डु