युट्युबमा फिटनेस भिडियो हेर्न टिनएजरलाई प्रतिबन्ध



एजेन्सी । युट्युबले कतिपय स्वास्थ्य तथा फिटनेस सम्बन्धी भिडियोहरुमा किशोरकिशोरीहरुको पहुँचमा प्रतिबन्ध लगाएको छ ।

१३ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरु सीमित शारीरिक व्यायाम तथा फिटनेस सम्बन्धी भिडियोहरु हेर्न सक्षम हुन्छन् । तर युट्युबले ती किशोरकिशोरीहरुलाई त्यस्ता भिडियो फेरि दोहोर्‍याएर हेर्न अनुमति दिँदैन वा त्यस्ता भिडियो सिफारिस गर्दैन ।

त्यस्ता भिडियोले उक्त उमेर समूहका किशोरकिशोरीहरुलाई नकारात्मक विश्वास वा भावना पैदा गर्ने भन्दै युट्युबले प्रतिबन्ध लगाएको जनाएको छ । युट्युबको यस्तो निर्णयबारे विज्ञहरूले भने स्वागत गरेका छन् । यद्पि युवाहरुका लागि फिटनेस र स्वास्थ्यबारे सँगसँगै व्यापक बहस हुनुपर्ने पनि उनीहरुको भनाइ छ ।

सामान्यतया कुनै भिडियो एक पटक हेरेपछि प्रयोगकर्तालाई त्यस सम्बन्धी अन्य भिडियोहरु पनि युट्युब अलगोरिदमले साइडबार डिस्प्लेमा बारम्बार पठाउने गर्छ ।

अब भने युट्युबले टिनएजरहरुलाई त्यस्ता भिडियो पठाउने छैन । युट्युबको युवा तथा परिवार सम्बन्धी सल्लाहकार कमिटीले वयष्कहरुभन्दा टिनएजरहरुमा त्यस्ता भिडियो दोहोर्‍याएर हेर्दा नकारात्मक विश्वास पैदा हुने भन्दै यस्तो निर्णय गर्न सुझाव दिएको हो ।

यससँगै अब यस्ता भिडियो अवलोकन गर्नुअघि प्रयोगकर्ताले वास्तविक जन्ममिति पनि लेख्नुपर्ने हुन्छ । तर यसरी प्रयोगकर्ताले दाबी गरेको जन्ममितिलाई युट्युबले भेरिफाइ भने गर्दैन ।


क्लिकमान्डु