विश्वभर सर्वाधिक कार बिक्रेताको तेस्रो स्थानमा बीवाईडी, ६ महिनामै १७ लाखभन्दा धेरै बिक्री (सूचीसहित)



चिनियाँ ब्रान्ड चेरी र जिली क्रमश: १८औं र २०औं स्थानमा परेका छन् । तर डिसेम्बरसम्ममा चिनियाँ ब्रान्डहरु आफ्नो बिक्री बढाएर उत्कृष्ट १० मा आउनसक्ने ।

एजेन्सी । चिनियाँ ईभी बीवाईडी यस वर्षको जुलाइ महिनाभर संसारभर सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको तेस्रो नम्बरमा पर्‍यो । चीनको आधिकारिक तथ्यांक अनुसार बीवाईडीले सबैभन्दा धेरै कार बिक्री गरेको टोयोटाको भन्दा आधा कारहरु बिक्री गरेको छ । साथै सर्वाधिक बिक्रीको दोस्रोमा रहेको भक्सवागनको भन्दा ३० हजार मात्रै कम कारहरु बिक्री गरेको छ ।

जुलाइ महिनामा धेरै युनिट बिक्रीका बावजुद यस वर्षको जनवरीदेखि जुलाइसम्मको अवधिको बिक्री संख्या हेर्ने हो भने बीवाईडी ८औं नम्बरमा छ ।

तथ्यांकले के देखाउँछ भने यही जुलाइ महिनामा संसारभर सबैभन्दा धेरै ६ लाख ५१ हजार २ सय टोयोटाका कार बिक्री भए । दोस्रोमा नम्बरमा रहेको भक्सवागनले ३ लाख ४६ हजार २ सय कार बिक्र गर्‍यो । जवकि तेस्रो नम्बरमा रहेको बीवाईडीले ३ लाख १५ हजार ६ सय कार बिक्री गरेको छ । यसरी हेर्दा दोस्रो नम्बरमा रहेको भक्सवागनभन्दा ३० हजार संख्याले मात्रै पछाडि छ बीवाईडी ।

जुलाइ महिनाभर बिक्रीको अवस्था:

अरु चिनियाँ कम्पनी धेरै पछाडि

रोचक त के भने, सबैभन्दा धेरै कार बिक्री गर्ने उत्कृष्ट १० अटो कम्पनीको सूचीमा बीवाईडी बाहेक अन्य कुनै पनि चिनियाँ कारहरु परेका छैनन् । यद्यपि चेरी १८औं स्थानमा परेको छ । जसले ७१ हजार कार बिक्री गरेको छ । यस्तै अर्को चिनियाँ कम्पनी जिली २०औं स्थानमा परेको छ । यसले जुलाईमा जम्मा ६३ हजार ८ सय कार बिक्री गरेको छ ।

तर वार्षिक रुपमा बिक्रीको अवस्था हेर्ने हो भने जुलाइ महिनाभरको भन्दा निकै फरक देखिन्छ । बीवाईडीले जुलाइमा आफ्नो बिक्री तीब्र बनाए पनि जनवरीदेखि जुलाइसम्म अवधिको अवस्था हेर्ने हो भने बीवाईडी ८औं स्थानमा छ । र यस अवधिमा बीवाईडीले कुल १७ लाख १४ हजार १ सय कार बिक्री गरेको छ ।

सोही अवधिमा जिली ५ लाख ७७ हजार ७ सय कार बिक्री गर्दै समग्रमा १८औं स्थानमा परेको छ । तर टोयोटा र भक्सवागन क्रमश: पहिलो र दोस्रो स्थानमै रहेका छन् । अर्थात् यी दुई कम्पनी जनवरीदेखि जुलाइसम्मको कुल बिक्रीमा पनि अगाडि नै छन्। र सोही अवधिमा होन्डा भने तेस्रो स्थानमा छ ।

अटो कम्पनीहरुको बिक्रीको अवस्था हेर्दा वर्षको उत्तरार्धमा चिनियाँ कम्पनीहरुले बिक्री बढाउने अपेक्षा गरिएको छ । अर्थात् २०२४ को पछिल्लो ६ महिनाको अवधिमा चिनियाँ कम्पनीहरु आफ्नो बिक्री विस्तार गर्न केन्द्रित हुनेछन् ।

यसले आगामी डिसेम्बरसम्म सूचीमा पनि धेरै फेरबदल हुनसक्ने देखिन्छ । यस्तोमा विज्ञहरुले के आकलन गरेका छन् भने बीवाईडीसँगै अन्य केही चिनियाँ ब्रान्ड पनि डिसेम्बरसम्म विश्वव्यापी रुपमा टप १० को सूचीमा पर्नसक्छन् ।

यस वर्षको जनवरीदेखि जुलाइसम्म बिक्रीको अवस्था :


क्लिकमान्डु