तीज महिला सशक्तिकरणको प्रतीक: अध्यक्ष दाहाल



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउन प्रेरणा प्राप्त हुने भन्दै शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालद्वारा शुक्रबार जारी शुभकामना सन्देशमा हिन्दू धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा दिदीबहिनीहमा सुखशान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।

सन्देशमा भनिएको छ, “तीज पर्वले पारिवारिक मिलन, सामाजिक सम्बन्ध विस्तारका साथै महिला सशक्तीकरण, समानता र अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने मैले विश्वास लिएको छु ।” सन्देशमा महिलाको त्याग, समर्पण र इमान्दारिताको पहिचान झल्काउने तीज पर्व अहिले स्वतन्त्रता, सहअस्तित्व र सशक्तीकरणको प्रतीकका रुपमा मनाउन थालिएको र दिदीबहिनी, साथीसङ्गी जमघट भई नाचगान गर्ने, पारिवारिक मिलनमा सुखदुःख साट्ने र सामाजिक सम्बन्ध विस्तार एवं पुनर्ताजगी गर्ने तीज महिलाको विशेष सांस्कृतिक पर्व भएको उल्लेख छ ।

‘धार्मिक सांस्कृतिक परम्पराका नाममा महिलामाथि थोपरिएका कतिपय अन्धविश्वास र कुसंस्कार छोडेर यसको मौलिक पहिचानसहित तीज पर्व मनाउनु पर्छ ।

तीज पर्वका नाममा भित्रिनसक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिप्रति सचेत रहँदै यसलाई लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रुपमा मनाउन म सबैलाई अनुरोध गर्दछु,’ अध्यक्ष दाहालले भनेका छन् । शुक्रबार देशका विभिन्न स्थानमा हिन्दू महिलाहरु ब्रत बस्दै नाचगान गरेर हरितालिका तिज मनाइरहेका छन् ।


क्लिकमान्डु