तारा एअरले बुधबारदेखि पोखरा-जोमसोम उडान गर्ने, रामेछाप-लुक्ला उडान असोजदेखि नियमित



काठमाडौं । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा-जोमसोमको नियमित उडान तारा एअरले भोलि १८ गते मंगलबारबाट नियमित गर्ने भएको छ । पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकोले उडान नियमित हुन लागेको हो ।

जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्ट बाटै संचालन हुनेछ ।

मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ ।

यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप-लुक्ला-रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि विभिन्न वायुसेवा कम्पनीहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।

यो सिजनका लागि तारा एअरको २ वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्ने तालिका राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एअरले दिएको छ ।

ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।


क्लिकमान्डु