तादी घ्याङफेदी हाइड्रोपावरको पीपीए सम्पन्न, २०८४ बैशाखदेखि उत्पादन हुने



काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गर्न लागेको तादी घ्याङफेदी हाइड्रोपावरको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो । प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ मा निर्माण हुनेछ ।

यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०८० बैशाखमा तयार भएको हो । यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ ।

यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ ।उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ । २०८४ बैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ ।

यो जलविद्युत् आयोजनामा पूर्णलाल श्रेष्ठ, बलराम खतिवडा, अस्कर अली लगायतको लगानी रहेको छ ।  बलराम खतिवडा इप्पानका महासचिव हुन् । अस्कर अली यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ उनको सूचना प्रविधि (आईटी) विज्ञका रुपमा नियुक्त भएका थिए ।


क्लिकमान्डु