नाडा अटो शो: सबैभन्दा धेरै बुकिङ भयो नामी ईभी



नाडा अटो शोमा सबैभन्दा धेरै बुकिङ हुने गाडी नामी नै बनेको छ । जुन पछिल्लो समय अत्यधिक लोकप्रिय रहेको बीवाईडीभन्दा पनि धेरै बुकिङ भयो ।

काठमाडौं । नाडा अटो शो-२०२४ मा चर्चामा रहेको चिनियाँ विद्युतीय सवारी नामी ७ सय १७ युनिट बुकिङ भएको छ । आइतबार सम्पन्न नाडा अटो शोमा सबैभन्दा धेरै बुकिङ भएको गाडीमा नामी नै हो ।

नामीका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले दिएको जानकारी अनुसार सेरेसको २ सय १० युनिट बुकिङ भएको छ ।

यस्तै दिपालको १ सय ६५ युनिट बुकिङ भएको बताइएको छ । नामी कारका तीनवटा मोडल नेपाली बजारमा उपलब्ध छन् । ‘नामी ई’को मूल्य २९ लाख ९९ हजार रुपैयाँ, ‘नामी ई-२’ को ३१ लाख ९९ हजार र ‘नामी ई-३’ को ३४ लाख ९९ हजार रुपैयाँ पर्छ ।

नामी चिनियाँ कम्पनी डङफेङ मोटर्सले उत्पादन गरेको गाडी हो । अहिले यो कम्पनीका गाडी १ सयभन्दा बढी देशमा उपलब्ध छन् ।

नामीमा ७० किलोवाटको मोटर पावर रहेको बताइन्छ । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३ सय १० किलोमिटर रेन्ज दिन्छ । साथै नामीको टप स्पिड १ सय ४० किलोमिटर प्रतिघण्टा छ ।

यस्तै चिनियाँ ईभी बीवाईडीको ७ सय १२ युनिट बुकिङ भएको छ । पछिल्लो समय अत्यधिक लोकप्रिय रहेको बीवाईडीलाई पनि जितेर नामीले नाडा अटो शोमा राम्रो व्यापार गरेको हो ।

भारतीय उत्पादनको टाटा पन्च ईभीको भने ४ सय ७५ युनिट बुकिङ भएको छ । टाटाको पन्च र टियागो गरी जम्मा ६ सय ४४ युनिटक नाडा अटो शोमा बुकिङ भएको छ ।


क्लिकमान्डु