महिला उद्यमीलाई सम्मान र प्रोत्साहन गर्छौं: मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको प्रोत्साहनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोरङ उद्योग व्यापार सङ्घ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा शुक्रबार विराटनगरमा आयोजना गरिएको तीनदिने ‘नारी उत्सव–२०८१ व्यापार मेला’को उद्घाटन गर्दै उनले प्रदेश सरकारले यस वर्ष आयोजना गर्ने लगानी सम्मेलनमार्फत महिला उद्यामीहरूको विकासका लागि आवश्यक नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“महिलालाई व्यापार, व्यवसाय, उद्यम क्षेत्रमा सहभागी गराए समाज र मुलुकमा आर्थिक समृद्धि कायम हुनेछ । महिला उद्यमी तथा व्यवसायीलाई सम्मान एवं प्रोत्साहन गर्नु सरकारको नीति नै हो । त्यसैले गत असारमा १४ जिल्लाका महिलालाई नगदसहित सम्मान पनि गरेका थियौँ । यसलाई निरन्तरता दिनेछौँ,” उनले भने ।

उनले महिलालाई आर्थिक क्षेत्रमा समान जिम्मेवारी दिएमा मुलुकमा रोजगारी एवं आर्थिक क्षेत्र चलायमान हुने भएकाले राज्यले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए । मेलामा महिलाद्वारा उत्पादित विभिन्न सामग्रीका ५५ वटा स्टल रहेका छन् ।


क्लिकमान्डु