पार्टीमा सबै कार्यकर्ता हो, कसैलाई देवत्वकरण नगर्नू: डा. लोहनी



काठमाडौं । पूर्वअर्थमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशलाई संकटबाट मुक्त गर्न राप्रपाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । यसका लागि राप्रपा देशको नेतृत्व गर्ने योजनासहित मैदानमा उत्रिनु आवश्यक रहेको बताएका थिए ।

तर पछिल्लो समय पार्टीमा सीमित व्यक्तिलाई देवत्वकरण गरिएकोमा उनले असन्तुष्टि व्यक्त गरेका थिए । सबै समान कार्यकर्ता भएको र कसैलाई पनि देवत्वकरण गर्न नहुने उनको धारणा थियो । ‘पार्टीमा सबै कार्यकर्ता नै हो । कसैलाई पनि देवत्वकरण नगर्नू । पार्टीमा ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्नुस् ।’

प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा लगायतका पुराना र अनुभवी नेताहरुलाई ओझेलमा पार्दै पार्टीका गतिविधिमा नयाँ पुस्ताका ज्ञानबहादुर शाही लगायतका नेताहरुलाई राप्रपा नेतृत्वले भूमिका दिइरहँदा नेता लोहनीको यस्तो प्रतिक्रिया आएको हो । शुक्रबार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस क्रममा उनले देशमा संकट छ भन्नेहरु धेरै भए पनि त्यसको समाधान गर्नेहरु नपाएको गुनासो गरेका थिए । अरु राजनीतिक दलहरुले पनि संकट रहेको भनिरहे पनि संकटमुक्त कसरी गर्ने भन्ने योजनासहित राप्रपा अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।

राप्रपाले बोलेका कुराहरुले नागरिकमा कस्तो प्रभाव परेको छ भन्नेबारेमा जनस्तरमा पुगेर सुझाव लिनुपर्ने पनि उनको भनाइ थियो । तर पार्टीमा कसैलाई पनि देवत्वकरण नगरी यथार्थ आवाज उठाउन पनि उनले आग्रह गरेका थिए ।

नेता लोहनीले भने, ‘ठीक छ, देशमा संकट छ भनेर त हामीले ठाउँ ठाउँमा भनेका छौँ । अरु पार्टीले पनि भनेका छन् । माओवादी र एमाले पनि त्यही भन्छन् । यो संकटको परिस्थितिमा हामीले खेल्ने भूमिका के ? राप्रपाले भोलि देशलाई हाँक्ने किसिमले खेल्ने भूमिको के ? हामीले बोलेका कुराले जनतामा केही प्रभाव परेको छ, सन्देश के गएको छ ? त्यसको बारेमा पनि बताउनुस् ।’


क्लिकमान्डु