टेलिकमको प्रबन्ध निर्देशक रिक्त: माओवादीले छानेको नाम अनुमोदन गर्न एमालेलाई सकस



सिफारिश समितिले छनोट भएर टुंगाइसकेको नाम हटाउँदा मुद्दा मामिला पर्ने र सकारले हार्ने अवस्था आउने भएकोले ओली सरकारलाई टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति निल्नु न ओकल्नुको अवस्था सिर्जना भएको छ ।

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद करिब एक वर्षदेखि रिक्त छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि निलम्बन परेका तत्कालीन टेलिकम प्रबन्ध निर्देशक सुनिल पौडेल नेसनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारी ठहर भएका छन् ।

पाैडेल निलम्बनमा परेपछि रिक्त रहेकाे टेलिकमको प्रवन्ध निर्देशकमा अहिलेसम्म सरकारले नयाँ व्यक्तिलाई नियुक्त गर्न सकेको छैन । विशेष अदालतले पौडेललाई गत वैशाख २५ गते भ्रष्टाचारी ठहर गर्दै ९ वर्षको कैद सजाय सुनाएको छ ।

पौडेल निलम्बनमा परेपछि सरकारले संगीता पहाडीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर खुला प्रतिस्पर्धाबाट नयाँ प्रवन्ध निर्देशक नियुक्त गर्ने प्रक्रियामसेत अगाडि बढायो । सरकारले २२ जेठमा टेलिकम प्रबन्ध निर्देशक नियुक्तिका लागि मागेको प्रस्तावबाट तीन जनाको नाम तत्कालीन माओवादी नेतृत्वको सरकारले छनोट गरिसकेको छ ।

तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले सरकार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेर ढल्ने भएपछि हतार हतार गत असार २० देखि २२ गते अन्तर्वार्ता लिन लगाइन् । उनले तीन जनाको नाम छनोट गर्न लगाएकी हुन् ।

छनोट भएको नाम मन्त्रिपरिषदमा पुर्‍याउन नपाउँदै सरकार परिवर्तन भएकोले टेलिकम प्रवन्ध निर्देशक नियुक्ति हुन सकेन ।
टेलिकमको प्रवन्ध निर्देशक नियुक्तिका लागि माओवादी नेतृत्वको सरकारले सार्वजनिक प्रस्ताव माग गरेर छनोट गरेको नामलाई एमाले सरकारले स्वीकार गर्न नसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै कर्मचारी बताउँछन् ।

टेलिकमको प्रवन्ध निर्देशकको लागि तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदी नेतृत्वको सिफारिश समितिबाट छनोट भएका तीन जनाको नाम छनोट भए पनि त्यसलाई अगाडि भने नबढेको सञ्चार मन्त्रालयकै सहसचिव बाबुराम भण्डारीले बताए । ‘तीन जनाको नाम छनोट भएको भए पनि मन्त्रिपरिषद लगेर नियुक्ति गर्नुपर्ने हुन्छ । सञ्चार मन्त्रीले छनोट भएका नामलाई मन्त्रिपरिषद लगेर निर्णय गराउनुपर्ने हुन्छ । त्यसको लागि मन्त्री तयार हुनुपर्ने छ भने प्रधानमन्त्रीले स्वीकृति दिएपछि मात्रै टेलिकम प्रवन्ध निर्देशक नियुक्त हुन हुने सञ्चार मन्त्रालयकै भनाइ छ ।

तत्कालीन सञ्चार मन्त्री रेखा शर्माले सरकार अल्पमतमा परिसकेपछि टेलिकमको प्रवन्ध निर्देशकको अन्तर्वार्ता र प्रस्तुतीकरण गर्न गराएर डा. विमल आचार्य, अनिल कुमार झा र संगीता पहाडी अर्यालको नाम सिफारिस भएको छ । छनोट भएका नाम फिर्ता लिँदा कानूनी झमेला आइपर्ने र यसैलाई अगाडि बढाएर नियुक्त गर्दा अर्कै पार्टीले छनोट गरेका व्यक्ति पर्ने भएकोले पनि एमाले सरकार अलमलमा परेको हो ।

सञ्चार मन्त्रालयका अनुसार यस अघि माओवादी सरकारले चलाखी गरेर सरकार अल्पमतमा परिकसेपछि आफ्ना मान्छे नियुक्त गर्ने गरी अन्तिम तीन जनाकाे नामावली तयार पारेकाे हो । मा‌ओवादी सरकारले आफ्ना मान्छे छनाेट गरेर गइसकेपछि सरकार परिवर्तन भयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ३१ असारमा प्रधानमन्त्री नियुक्त भए भने उनकै दलबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री भए । माओवादी सरकारले छनोट गरेका नामलाई स्वीकृत गर्न एमाले सरकारलाई सकस भएको छ ।

मन्त्रालय स्राेतका अनुसार छनोट भएको नाम रद्द गर्न मिल्दैन । रद्द गरेको अवस्थामा अदालतमा मुद्दा पर्ने र निरन्तरता दिँदा सरकारले आफ्ना मान्छे नपर्ने भन्ने चिन्ताले नाम छनाेट भएको डेढ महिनासम्म पनि टेलिकमले प्रवन्ध निर्देशक पाएकाे छैन ।

को हुन प्रवन्ध निर्देशकमा सिफारिस भएका तीन व्यक्ति

तीन जनाको नाम सिफारिस भएकामध्ये संगीता पहाडी टेलिकमकै कर्मचारी हुन् । उनी हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक छिन् । उनी टेलिकमको प्रवन्ध निर्देशक हुन जोड गरिरहेकी छन् ।

अर्का व्यक्ति डा‍. विमल आचार्य टेलिकमकै कर्मचारी हुन् । उनी अहिले टेलिकममा १० ‌औं तहमा कार्यरत छन् । उनी एकेडेमिक व्यक्ति हुन । कलेज पढाउने गरेका आचार्य पनि कर्मचारीबाटै टेलिकमको नेतृत्वमा पुग्ने मनसायका साथ राजनीतिक लबिङमा छन् ।

अर्का व्यक्ति अनिल झा सरकारबाटै विभिन्न पदमा नियुक्त खाइसकेका व्यक्ति हुन् । उनि अहिले जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक हुन् । झा टेलिकमको प्रवन्ध निर्देशक बन्न राजनीतिक दौडधूपमा रहेको सञ्चार मन्त्रालय स्राेतले क्लिकमान्डुलाई जानकारी दिएको छ ।


राजु बास्कोटा