हुलाकी सडक निर्माणलाई गति दिन सांसदहरुको माग



काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसद आनन्दप्रसाद ढुङ्गानाले हुलाकी सडकलाई तराई मधेसको लाइफलाइन मानिए पनि निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गरे ।

उनले सो आयोजनामा देखिएको समस्या समाधान गरी तत्काल निर्माण कार्यमा गति दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद ढुङ्गानाले भने, “हुलाकी राजमार्ग बन्नुपर्छ, मधेसको विकास हुन्छ भनेर मत राख्दै आएको छु । सडक त बन्दैछ तर त्यहाँ निर्माणाधीन पुल समयमै बन्न सकेका छैनन् । अनशन गरेपछि मात्रै पूल बन्ने हो ?”

सांसद डा अञ्जान शाक्यले धुलिखेलमा ८४ वर्षीय वृद्ध भिक्षुमाथि साङ्घातिक आक्रमण भएको उल्लेख गर्दै दोषीमाथि कारबाहीको माग गरे । उनले ती भिक्षुलाई सुनोयिजित रुपमा लुटपाट गर्नेगरी आक्रमण भएको तथा उक्त घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरे ।

सांसद वामदेव गौतमले नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी सडक निर्माण गरिएकाले दुर्घटना बढ्दै गएको बताए । उनले वस्तुनिष्ठ योजना बनाई प्रभावकारी अध्ययन गरेर मात्रै सडक निर्माण गर्न सुझाव दिए ।

सांसद भुवनबहादुर सुनारले पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएकाले दोषीमाथि कारबाहीको माग गरे । उनले अन्तरजातीय प्रेम सम्बन्धका कारण म्याग्दीकी १९ वर्षीया युवतीको हत्या भएको उदाहरण दिँदै उक्त घटनामा संलग्न अपराधीलाई कारबाही गर्न सरकारसँग माग गरे।


क्लिकमान्डु