सांसदहरुको आपत्ति: वायुसेवा निगमले विदेशीबाट कमिसन लिएर आफ्ना जहाज पार्किङमै थन्कायो



काठमाडौं । वायुसेवा निगमले अरु जहाज कम्पनीबाट कमिसस लिएर आफ्ना जहाज पार्किङमा राखेको भन्दै संसदहरुले आपत्ति जनाएका छन् ।

नेपाल वायुसेवा निगमले अरु विदेशी एयरलाइन्सबाट कमिससन लिएर आफ्ना जहाज नचाएर पार्किङमा थन्काएर राखेको भन्दै सांसद मनीष झाले संसदको ध्यानाकर्षण गराएका छन् । उनले निगमको जहाज उड्दा दैनिक ५ करोड रुपैयाँ घाटा भइरहेको भन्दै यसमा निगमको नेतृत्वको कमजोरी भएको बताए ।

उनले भने ‘वायुसेवा निगम नेतृत्वमा सम्बन्धित विषय नबुझेको र जान्दै नजानेको व्यक्ति पुगेको र क्षमता नभएको व्यक्तिलाई राखेको कारण निगम कमजोर भएको हो ।’

यस्तै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरीको विषयमा प्रश्न उठाएका थिए । उनले प्राधिकरणका महानिर्देशकको विषयमा संसदले निर्णय गर्नुपर्ने विषय उठाए ।

बजगाईँले यसअघि पनि महानिर्देशकको गतिविधिप्रति आपत्ति जनाउँदै टिप्पणी गरेका थिए । महानिर्देशक प्रदीप अधिकारीमाथि सांसद बजगाईँले विमानस्थलमा यात्रुको झोलामा अवैध सामान राखिदिएर फसाउने गरेको आरोप समेत लगाएका थिए ।

सांसदहरुले निगमको नेतृत्वको क्षमता र भूमिकामाथि नै गम्भीर प्रश्न उठाएका थिए । वर्तमान नेतृत्वकै कारण निगम कमजोर बनेको उनीहरुको आरोप थियो ।


क्लिकमान्डु