अन्नपूर्णमा बेपत्ता दुई पर्यटकमध्ये एक जनाको शव भेटियो



काठमाडौं । कास्कीको वीरेठाँटी हुँदै म्याग्दीको घोरेपानी जाने क्रममा बेपत्ता भएका दुई स्पेनी पर्यटकमध्ये एक जनाको शव भेटिएको छ । अर्का एक जना अझै बेपत्ता छन् ।

दुई दिनदेखि बेपत्ता भएका स्पेनी नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला)मध्ये इरिकको शव भेटिएको अन्नपूर्ण गाउँपालिकाले जानकारी दिएको छ ।

वीरेठाँटीस्थित प्रहरी चेकपोस्टमा उनीहरुले भदौ ९ गते भ्रमणका लागि आफ्नो नाम टिपाएका थिए । तर उनीहरु बाटोमै बेपत्ता भएपछि स्थानीय सरकार र प्रहरीले खोजी गरेको थियो ।

मंगलबार अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै बटुवाले ट्रेकिङ सामग्री देखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए ।

झोला फेला परेको स्थानबाट करिब डेढ किलोमिटर तल इरिकको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ । उनको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइँदैछ । साथै महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु