टेस्लासहित चिनियाँ ईभीमा क्यानडाले लगायो १ सय प्रतिशत भन्सार शुल्क



एजेन्सी । अमेरिका र युरोपियन युनियनपछि क्यानडाले पनि चीनबाट आयात हुने विद्युतीय सवारीमा १ सय प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ । साथै चीनबाटै आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत भन्सार लगाउने भएको छ ।

चिनियाँ ईभीमा लगाउने भनिएको उक्त भन्सार शुल्क टेस्ला गाडीको लागि पनि लागु हुनेछ । क्यानडा सरकारका अधिकारीहरुले यसको पुष्टि गरेका छन् । लामो समयदेखिको प्रयासपछि क्यानडाले यस्तो घोषणा गरेको हो ।

अमेरिकी कम्पनी टेस्लाका ईभीहरु भने चीनबाट पनि उत्पादन र विक्री हुँदै आएका छन् । क्यानडाको भन्सार शुल्कको मापदण्ड चीनबाट निर्यात हुने टेस्लाको लागि पनि लागु हुने बताइएको छ ।

पछिल्ला वर्षहरुमा चिनियाँ विद्युतीय सवारीले युरोप र अमेरिका लगायतको अटो बजारमा नकारात्मक असरा पारेको भन्दै चीनको आलोचना हुँदै आएको थियो । चिनियाँ गाडी निर्माताले क्यानडाको अटो बजारमा पनि खराब प्रतिस्पर्धा गरेको भन्दै आलोचना हुने गरेको थियो ।

चीन भने विश्वभर सबैभन्दा धेरै विद्युतीय सवारी उत्पादन र विक्री गर्ने देशको रुपमा चिनिएको छ । यसका साथै चीनले पछिल्लो समय तीब्र गतिमा अटो बजार विस्तार गरिरहेको छ । जसकारण अमेरिका र युरोपियन देशका सवारी निर्माताहरुको बजार खुम्चिँदै गरेको देखिएको छ ।


क्लिकमान्डु