यात्रुवाहक बस रोकेर हतियारधारी समूहद्वारा २३ जनाको हत्या, १० गाडीमा आगजनी



बस र ट्रकका यात्रुहरुमाथि हतियारधारी समूहले आक्रमण गर्दा २३ जना मारिए । ३० देखि ४० जनाको समूहले १० वटा बसमा आगजनी गरे ।

एजेन्सी । पाकिस्तानको बलोचिस्तानस्थित मुसाखाइल जिल्लामा हतियारधारी समूहको आक्रमणबाट २३ जना मारिएका छन् । सोमबार गुडिरहेको बस र ट्रकका यात्रुहरुलाई सडकमै ओरालेर हतियारधारी समूहले गोली प्रहार गरेको थियो ।

मुसाखाइल जिल्लाका जिल्ला सहायक आयुक्त नजिब काकरका अनुसार हतियारधारी समूहले राराशाम क्षेत्रमा अन्तरप्रदेश राजमार्ग बन्द गर्दै केही बस र ट्रकबाट यात्रु ओरालेर आक्रमण गरेको थियो ।

आपराधिक समूहले राजमार्गमा गुडेका भ्यान, बस र ट्रक रोकेर त्यहाँका यात्रुहरुलाई ओरालेका थिए । उक्त राजमार्ग बलोचिस्तान प्रदेशलाई पन्जाब प्रदेशसँग जोड्ने एक प्रमुख सडक हो ।

घटनास्थलमा ३० देखि ४० जनाको हतियारधारी समूह रहेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । र उनीहरुले २२ वटा सवारी साधन रोकेर यात्रुलाई सडकमा ओरालेका थिए । घटनापछि स्थानीय सुरक्षाकर्मीहरुले पन्जाब आवतजावत सवारीसाधनहरुमा कडा जाँच गरेको पनि काकरले जानकारी दिए । यस क्रममा मृत्यु हुनेहरु पन्जाबका बासिन्दाहरु रहेको पुष्टि भएको बताइएको छ ।

यसैबीच हतियारधारी समुहले १० वटा सवारीसाधनमा आगजनी गरेको पनि पाकिस्तानको लोकप्रिय सञ्चारमाध्यम डनले उल्लेख गरेको छ । घटनापछि सुरक्षाकर्मीहरुले घटनास्थलबाट मृतकका शव अस्पताल लगेका छन् ।

यस घटनाको जिम्मा बलोचिस्तानमा सक्रिय हतियारधारी समूह बीएलए अर्थात् बलोच लिबरेसन आर्मीले लिएको छ । पछिल्ला केही वर्षहरुमा बलोचिस्तानमा भएको यो भयानक घटना हो ।

बलोचिस्तानको नोस्की सहर नजिकै गत अप्रिलमा पनि यस्तै प्रकृतिको आक्रमण भएको थियो । जहाँ यात्रुवाहक बस रोकेर हतियारधारी समूहले ९ यात्रुको हत्या गरेको बताइएको छ । गत वर्ष भने बलोचिस्तानमा १ सय ७० वटा आक्रमणमा १ सय ५१ जना आम नागरिक र ११४ सुरक्षाकर्मी मारिएका थिए ।

बलोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रदेशको रुपमा चिनिन्छ । जहाँ हतियारधारी समूहका गतिविधि सक्रिय हुने गरेका छन् ।


क्लिकमान्डु