थाइल्यान्डको राजनीतिले बिमस्टेक प्रभावित, सरकार गठनका लागि शीखर सम्मेलन स्थगित



काठमाडौं । थाइल्यान्डमा आगामी साताका लागि तय गरिएको बिमस्टेक शीखर सम्मेलन स्थगित भएको छ । थाइल्यान्ड सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सम्मेलन स्थगित भएको जनाएको छ ।

थाइल्यान्डको सरकारले देश नयाँ सरकार गठनको प्रक्रियामा रहेकाले छैटौं शीखर सम्मेलन सारिएको जनाएको छ ।

थाइल्यान्डमा थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेतोङतार्न सिनावात्रा गएको साता मात्रै नयाँ प्रधानमन्त्री नियुक्त भएपछि त्यहाँ सरकारलाई पूर्णता दिने प्रयास भएको छ ।

थाइल्यान्डको सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाविसिनलाई नैतिक उल्लंघन गरेको भन्दै बर्खास्त गरेपछि थाइ संसद्‍ले पेतोङतार्नलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको हो । थाइल्यान्डमा राजनीतिक उतारचढावका बीच बिमस्टेक शीखर सम्मेलन पनि प्रभावित बनेको हो ।

थाइल्यान्डलाई नयाँ सरकार गठनमा केही समय लाग्ने भनिएको छ । यसैबीच शिखर सम्मेलनको नयाँ मिति चाँडै नै तय गरिने पनि बताइएको छ ।

१९९७ को जुनमा स्थापित भएको अन्तर्राष्ट्रिय संगठन बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासलाई आम रुपमा बिमस्टेकको रुपमा चिनिन्छ । जसमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड आबद्ध छन् ।

बिमस्टेक शीखर सम्मेलनमा भाग लिन नेपालको तर्फबाट प्रधानमन्त्री केपी ओली त्यसतर्फ जाने तयारीमा थिए । जुन भ्रमण केपी ओलीका लागि चौथो पटक प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हुने थियो । तर बिमस्टेक सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री ओलको पहिलो विदेश भ्रमण संयुक्त राष्ट्रसंघको ७९औं महासभा हुने भएको छ ।


क्लिकमान्डु