उपभोक्ता हित सुरक्षित गर्ने हो भने व्यवसायीहरु राजनीतिमा लाग्‍नु हुँदैन: सांसद खान



काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं जनमत पार्टीका सांसद अब्दुल खानले उपभोक्ताहरुको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

कानुनमा देखिएका कतिपय कमजोरीका कारण उपभोक्ताहरु ठगिने गरेको भन्दै त्यस्ता कमी कमजोरीलाई सच्याउनुपर्ने उनको भनाइ छ । साथै उपभोक्ता हित सुरक्षित गर्नका लागि उद्योगी, व्यवसायीहरु राजनीतिमा लाग्न नहुने उनले बताए ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता खानले यस्तो बताएका हुन् । उपभोक्ताको अधिकार र आपूर्ति सहज बनाउन दलीय राजनीतिकरण बन्द गर्नुपर्ने उनको धारणा थियो । उनले उद्योगहरुको अनुगमन गर्न जाँदा नेताहरुको फोन आउने र कारबाही गर्न नपाइने गरेको भन्दै उपभोक्ता अधिकारका लागि दलीय राजनीतिको व्यवस्थापन गर्नुपर्ने बताए ।

यस्तै उपभोक्ताको हक हितको रक्षा गर्ने हो भने उद्योगी, व्यवसायीहरु राजनीतिकरणमा लाग्न नहुने उनको तर्क थियो । ‘उपभोक्ताको अधिकार र आपूर्ति सहज हुनुपर्छ । यसको लागि हामीले दलीय राजनीतिकरण गर्नु हुँदैन । अहिले सबैभन्दा बढी सांसद माननीयज्युहरु बसेको पार्टी नेपाली कांग्रेस हो । त्यसपछिको नेकपा एमाले हो । दुवै पार्टीहरु सरकारमा छन् । दुवै पार्टीको सम्मिलित सरकार छ । यी दुवै पार्टी सरकारमा भइसकेपछि क्षमा याचना गर्ने मौका जनतालेले दिने छैनन्,’ उनले भने ।

उपभोक्ता अधिकार सुनिश्चित गर्ने क्रममा कतिपय दलका नेताहरुले नै दबाब दिने भएकाले त्यसलाई रोक्नुपर्ने उनले बताएका थिए । सांसद खानले भने, ‘उपभोक्ताहरुको हक हितमा भने विभिन्न उद्योगहरु, विभिन्न कम्पनीहरुका सञ्चालकहरु हामी तपाईंसँगै जोडिएका छौँ । सबैभन्दा बढी नेपाली कांग्रेस र नेकपा एमालेसँगै जोडिएका छन् । अहिले केही अनुगमन गरी गेटमा पुग्दा पनि यहाँ नेताज्यूहरुको फोन आउँछ । उपभोक्ताको हक हितको रक्षा वास्तवमा गर्ने हो भने उद्योगी, व्यवसायीहरुको राजनीतिकरणमा लाग्नु हुँदैन ।’

१५ खर्ब ५२ अर्बको आयात भइरहेको र निर्यात जम्मा १ खर्ब ५२ अर्बको निर्यात गरिरहेको भन्दै उनले देशमा भएका साधन र श्रोतको उचित प्रयोग गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । तर आयात गर्नुपर्ने वस्तुमा कर्मचारीतन्त्र बढी उत्साहित हुने र भएका उत्पादनलाई सही सदुपयोग गर्नेतर्फ जान नसकेको पनि उनको गुनासो थियो ।


क्लिकमान्डु