अमेरिकी राष्ट्रपति निर्वाचन: कमला ह्यारिसको प्रमुख चुनौती अर्थतन्त्रको मुद्दा



तस्बिर: गेट्टी इमेज

एजेन्सी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको तयारीमा रहेकी उपराष्ट्रपति कमला ह्यारिसका अगाडि थुप्रै चुनौती देखिएका छन् । तीमध्ये अर्थतन्त्रको मुद्दा उनको एक प्रमुख चुनौतीको रुपमा देखिएको छ ।

यसका लागि कमलाले विशेषगरी कम र मध्य आय भएका परिवारहरुलाई दिइने पारिवारिक बिदा, सस्तो आवास र निशुल्क ट्युसनसहित केही प्रगतिशील नीतिहरु अगाडि सारेकी छन् । यससँगै आम अमेरिकीहरुलाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दाहरुमा कमला कसरी प्रस्तुत हुनेछिन् भन्ने कुराले उनको आगामी राजनीतिक करिअर तय गर्ने छ ।

यसबीचमा उपराष्ट्रपति भएर काम गर्दा कतिपय अवस्थामा उनको भूमिका परिवर्तन भइरहेको देखिन्छ । यसले गर्दा कमला ह्यारिसका निकटस्थहरु पनि के कुरामा विश्वस्त छन् भने उनले आफैलाई परिभाषित गर्न सकिरहेकी छैनन् । अर्थात् यसका लागि उनले संघर्ष गरिरहेकी छन् ।

कतिपय गम्भीर मुद्दाका सवालमा नीति निर्माणको क्रममा उनले आफूलाई स्पष्ट रुपमा परिभाषित गर्न नसकेको आलोचना हुने गरेको छ । यही शिलशिलामा उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति बन्ने प्रतिस्पर्धामा छिन् । तर सिकागोमा भएको डेमोक्रेटिक पार्टीको महाधिवेशनमा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गरिसकेपछि उनले रिपब्लिकनका प्रतिस्पर्धी डोनल्ड ट्रम्पबाट आफ्नो पोजिसन भिन्न देखाउन थालेकी छन् ।

यसबीचमा अर्थतन्त्रको मुद्दामा कमलाले सस्तो आवास, पारिवारिक बिदासहितका प्रगतिशील नीति अवलम्बन गरेकी छन् । उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस ‘बिडेनोमिक्स’को नामबाट चिनिने आर्थिक कानुन पारित गर्ने यात्रामा बाइडेनको साझेदार थिइन् । पूर्वाधार र हरित ऊर्जामा ठूलो लगानीको विषय समावेश रहेको उक्त कानुन राष्ट्रपतिबाट बिदा हुँदै गरेका बाइडेनले नै अगाडि सारेका थिए ।

तर मुद्रास्फीति र उच्च ब्याजदर जस्ता समस्याले मध्यमवर्गीय अमेरिकी उपभोक्ताहरु दबाबमा भइरहँदा अर्थतन्त्रको मुद्दाले यसपटक मतदाताहरुका लागि धेरै नै अर्थ राख्ने आकलन गर्न सकिन्छ । कमलाले भने यस मुद्दालाई मध्यनजर गर्दै पहिलो पटक घर खरिदकर्ताहरुलाई धितो सहायता, नवजात शिशुहरुका आमाबाबुहरुका लागि कर सहुलियत, किराना पसलहरुको मूल्य वृद्धिमा प्रतिबन्ध लगायत विषय समेटेर आर्थिक योजना सार्वजनिक गरेकी छन् । साथै आफ्नो आर्थिक योजनाले हरेक नागरिकका लागि प्रतिस्पर्धा गर्न र सफल बन्न आर्थिक अवसर सिर्जना गर्ने कमला ह्यारिसले दाबी गरेकी छन् ।

यससँगै कमलाको अर्को प्रमुख मुद्दाको रुपमा बसाइँसराइको विषय पनि समेटिएको छ । जहाँ उनले आफ्नो पोजिसन भने परिवर्तन गरेकी छन् । २०२० मा चुनावी अभियानको क्रममा उनले इमिग्रेसन डिटेन्सन सेन्टर बन्द गर्ने जस्ता प्रगतिशील मुद्दालाई बढावा दिएकी थिइन् ।

२०२१ मा बाइडेनले बाइडेनले ह्यारिसलाई उपराष्ट्रपतिको रुपमा दक्षिणी सिमानामा अध्यागमन मुद्दाहरुको कूटनीतिक प्रयासको निरीक्षण गर्न आग्रह गरेका थिए । विशेषगरी मानिसहरु किन भागेर अमेरिका आउँदैछन् भन्ने विषयको कारणहरुको खोजी गर्ने सम्बन्धमा मध्य अमेरिकी देशहरुसँग काम गर्न कमलालाई जिम्मेवारी दिइएको थियो । तर त्यसबेला अधिकांश रिपब्लिकनहरुले कमलालाई ‘सीमा जार’ अर्थात् सीमा शासकको रुपमा चित्रण गरेका थिए ।

त्यस निरीक्षणको नतिजाको रुपमा कमलाले २०२३ मा निजी कम्पनीहरुबाट लगभग ३ अर्ब डलर संकलन गर्न सहायता मिलेको घोषणा गरेकी थिइन् । उक्त पहलको उद्देश्य भने आप्रवासनलाई कम आकर्षक बनाउनु थियो । तर यस वर्षको सुरुमा उनले कट्टरपन्थी सीमा सुरक्षा सम्झौता पारित गर्ने प्रयासलाई सहयोग गरिन् । जसमा सीमा पर्खाल निर्माणका लागि करोडौं डलर संकलन गर्ने विषय पनि समावेश थियो ।

यससँगै उनले ट्रम्पले नष्ट पारेको सीमा सुरक्षा बल फिर्ता ल्याउने र त्यसलाई कानुन बनाउन हस्ताक्षर गर्ने प्रतिबद्धता जनाइन् । यसरी हेर्दा उनले २०२० मा प्रतिबद्धता जनाएको आप्रवासनको विषयको विपरीत उपराष्ट्रपति बनेका बेला अगाडि बढेकी थिइन् । यस्ता अस्पष्ट नीति र कदमका कारणले भने कमलाका समर्थकहरुले नै उनको आलोचना गर्ने गरेका छन् ।

यसवाहेक अमेरिकामा गम्भीर विषय बनेको एबर्सन, नाटो र युक्रेनलाई दिँदै आएको सहायता, इजरायल गाजा युद्ध, चर्को कर, स्वास्थ्योपचार, बढ्दो अपराध, जलवायु र हतियार कानुन जस्ता मुद्दा कमलाका लागि आगामी निर्वाचनमा प्रमुख चुनौतीको रुपमा देखिएका छन् ।


क्लिकमान्डु