सेयर बजारका नाममा भारतमा एकै वर्ष २७ अर्ब ८४ करोड ठगी



एजेन्सी । भारतको उत्तर प्रदेशस्थित वाराणसीमा साइबर ठगले सेयर बजारमा लगानी गर्न प्रलोभन दिँदै एक युवकबाट १५ लाख ४९ हजार भारु ठगी गरेको घटना बाहिरियो । पीडित अमरेन्द्र कुमारले गत महिना फेसबुकमा सेयर बजारबारे एक विज्ञापन देखेका थिए ।

विज्ञापनमा लगानीका लागि एक कोर्सको विषयमा कुरा गरिएको थियो । जब विज्ञापनमा दिएको नम्बरमा अमरेन्द्रले फोन गरे त्यसपछि उनलाई एउटा एप डाउनलोड गर्न लगाइयो । उक्त एपको माध्यमबाट सेयर बजारमा लगानी गर्न लगाइयो ।

अमरेन्द्रले आफ्नो र पत्नीको बैंक खाताबाट अलग अलग मितिमा कुल १५ लाख ४९ हजार भारु लगानी गरे । त्यसपछि एपमा लगानीको पैसाको नाफा दोब्बर भएको पनि देखियो । जब अमरेन्द्रले उक्त रकम निकाल्ने प्रयास गरे त्यसका लागि उनीसँग फेरि थप ११ लाखभन्दा धेरै रुपैयाँ मागियो । यसरी भारतको उत्तर प्रदेशका यी युवक साइबर अपराधको सिकार बने।

उत्तर प्रदेशको प्रहरीले यस घटनालाई स्टक मार्केट स्क्याम अर्थात् सेयर बजार ठगी भन्दै अनुसन्धान गरेको जनाएको छ । भारतमा सेयर बजार ठगीको यो पहिलो घटना भने होइन । पछिल्ला वर्षहरुमा भारतका अन्य राज्यमा पनि यस्ता थुप्रै घटना देखिएका छन् ।

सामाजिक सञ्जालमा लगानीकर्ताहरुलाई कसरी ठग्ने भन्दै विज्ञापनहरु बनाएर फसाउने गरेका यस्ता प्रसस्त घटना देखिएका छन् । नक्कली विज्ञापन बनाएर सेयर लगानीकर्तालाई फसाउने यस्ता ठगीका गतिविधिलाई भारतो साइबर क्राइम कोअर्डिनेसन सेन्टरले अनुसन्धान गर्दै आएको छ ।

भारतीय साइबर क्राइम कोअर्डिनेसन सेन्टरका अनुसार यसै वर्ष अप्रिलसम्म साइबर अपराध गिरोहले १७ अर्ब ५० करोड करोड भारु (२७ अर्ब ८४ करोड २८ लाख १५ हजार) भन्दा धेरै ठगी गरेको छ । यसमा सबैभन्दा धेरै लगानी स्क्यामको माधेयमबाट १४२० करोड र ट्रेडिङ स्क्यामको नाममा २२२ करोडको ठगीका मुद्दा परेका छन् ।


क्लिकमान्डु