सहकारीको अर्बौं ठग्ने केदार शर्माविरुद्ध २३ अर्ब सम्पत्ति शुद्धीकरण गरेको भन्दै मुद्दा दायर (पूर्णपाठ)



काठमाडौं । विभिन्न सहकारीमा संलग्न रहेका हजारौं सहकारीका बचतकर्ताको बचत अपचलन गरेर अर्बौैंको निजी सम्पत्ति आर्जन गरेका शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माविरुद्ध करिब २३ अर्ब रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ ।

सहकारी ठगीमा र्पुपक्षका लागि थुनामा रहेका शर्माले तुलसी बहुमुखी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताको बचत ठगी गरेका छन् ।

भक्तपुर जिल्ला अदालतमा ३२ साउन गते शर्मासहित ९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको भन्दै मुद्दा दायर भएको हो ।

जसमा शर्माका साथै शर्माको श्रीमती तथा शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मा, शिखर अर्गनाइजेसनका मेनेजर पुस्कर मल्ल, शिव शिखर सहकारीको भक्तपुरको सञ्चालक समिति अध्यक्ष सुशील बानियाँ, शिव शिखर सहकारीका सचिव तथा गोरखा टि एण्ड कफिका अध्यक्ष तेजबहादुर तामाङ, शिव शिखर सहकारीका व्यवस्थापक लीलानाथ गौतम, मन्दीप खवास, सबिना न्यौपाने र शिव शिखर सहकारीका ऋण अधिकृत मुकुन्द कपालीविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको भन्दै मुद्दा दायर भएको छ ।

९ जना प्रतिवादीमध्ये केदार शर्मा, गीता शर्मा, पुस्कर मल्ल, मन्दीप खवास र सबिना न्यौपाने पक्राउ गरेर सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । बाँकी चार जना अझै फरार छन्।

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को (क), (ख) र (ग) अन्तर्गत कसुर गरेको ठहर गर्दै शर्माविरुद्ध २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार ४१५ रुपैयाँ ३८ पैसा रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

शर्माले विभिन्न किसिमबाट सहकारी लगायत कम्पनीको ११ अर्ब ४६ करोड ५३ लाख २८ हजार ५३९ रुपैयाँ अपचलन गरेको देखिएको छ ।

यस्तै केदार शर्माको श्रीमती गीता शर्माविरुद्ध ५२ करोड, ३३ लाख ३२ हजार २१४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

यस्तै तेजबहादुर तामाङ विरुद्ध ७१ करोड ९ लाख १८ हजार ७९५ रुपैयाँ, लिनाथ गौतम विरुद्ध ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८०२ रुपैयाँ, सुशील बानियाँ विरुद्ध ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८०२ रुपैयाँ, सबिना न्यौपाने विरुद्ध १ करोड २४ लाख रुपैयाँ, पुस्कर मल्लविरुद्ध १० करोड ६३ लाख २२ हजार ९०३ र मन्दिप खवासविरुद्ध २० लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर भएका व्यक्तिहरु शिव शिखर र तुलसी बहुमुखी सहकारी संस्थामा आबद्ध छन् । उनीहरु दुई वटा सहकारीको विभिन्न पदमा हुँदा सम्पत्ति शुद्धीकरण गरेको अभियोगपत्रमा उल्लेख छ ।

सहकारी ठगी प्रकरणमा उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । त्यही अनुसन्धानका आधारमा उनीहरुले सम्पत्ति शुद्धीरण गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

कहाँ कति सम्पत्ति जोडे ?

शर्माले सहकारीको बचत अपचलन गरेर मोरङ, झापा, उदयपुर, म्याग्दी, सुनसरी जिल्लाका विभिन्न स्थानमा ३६ हजार २०८.८७३ वर्गमिटर जग्गा रहेको पाइएको छ । शर्मा र तामाङको नाममा संयुक्त जग्गा ४१२७.०४ वर्ग मिटर रहेको पाइएको छ । शर्माको नाममा ४० वटा कम्पनीमा लगानी छ । यी कम्पनीको चुक्ता पुँजी १ अर्ब ३० करोड ३० लाख रुपैयाँ छ ।

यस्तै शर्माको श्रीमती गीता शर्माको नाममा काठमाडौं, धादिङ, बाँके र चितवनका ३१ ठाउँमा ३३ हजार ७५६. २२ वर्गमिटर जग्गा छ ।

यस्तै कपालीको नाममा ६१७०.४६, न्यौपानेको नाममा २५४, बानियाँको नाममा ४६१.३७ वर्गमिटर र खवासको नाममा उदयपुर जिल्लाको तीन ठाँउमा जग्गा रहेको छ ।

पुष्कर मल्लाको नाममा २१ वटा कम्पनीको नाममा सेयर स्वामित्व रहेको पाइएको छ ।

शर्माले सहकारीबाट लिएको ऋणमा नक्कली ऋणी खडा गरेको पाइएको छ । शर्माले सहकारीबाट पैसा उठाएर विभिन्न ४० वटा कम्पनीमा लगानी गरेका छन् भने श्रीमतीको नाममा ९ वटा कम्पनी खोलेका छन् ।

सबै सम्पत्ति जफत गर्न भक्तपुर जिल्ला अदालतमा मुद्दा परेको छ । सहकारीका नाममा ठगी गर्ने शर्माविरुद्ध ६ अर्ब ३ करोड ९ लाख ८७ हजार ३८५ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर भएको छ ।


क्लिकमान्डु