उज्यालो पर्खिरहेको निसेलढोर



ढोरपाटन । पूर्वी रूकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।

विद्युतको सुविधा नहुँदा स्थानीय दियालो र टुकी बालेर रात बिताउन बाध्य छन्। एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे। निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेँसी) क्षेत्र हो ।

पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रूपमा निसेलढोरमा बस्ने गर्छन्। बर्खाको समयमा यहाँ दुई सयभन्दा बढी परिवार बस्छन् । असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन् ।

पछिल्लो समय स्थायी रूपमै निसेलढोरमै बस्नेको संख्या बढ्दै गएको छ । उनीहरूले उज्यालो खोजिरहेका छन् । ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक भए पनि विद्युत लगायतका सुविधा नपुग्दा ओझेलमा परेको छ ।

पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कमै मात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रूपमा बस्नेको संख्या बढ्न थालेको निसीखोला गाउँपालिका–५ निसेलढोरकी सम्झना विकले बताए ।

अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरू सूचना सञ्चारबाट टाढा रहनुपरेको उनी बताउँछन् । यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ हुँदा पनि बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उनको भनाइ छ ।

‘बिजुली छैन, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने? चार्ज गर्न पाइँदैन, मोबाइल चार्ज गर्न, दुई/तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘बिजुली हुन्थ्यो भने साँझमा केटाकेटीले अबेरसम्म पढ्न पाउँथे, देश विदेशका खबर सुन्न पाइन्थ्यो ।’

स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न ढोरपाटन सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो बाल्न अप्ठ्यारो भएको बताए।
बजारमा मट्टीतेल समेत पाउन छोडेको उनी बताउँछन्।

‘घाँस दाउरा ल्याउन सिकार आरक्षले दिँदैन,’ उनले भने, ‘जसोतसो बसिरहेका छौं ।

निसीखोला–५ का वडाध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत् पुर्‍याउनका लागि अघिल्लो वर्षदेखि काम सुरू गरेको बताए ।

ढोरपाटन–९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्न लागेको उनको भनाइ छ ।

गत वर्ष विद्युत् केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकिएको अध्यक्ष घर्तीमगर बताउँछन् । रासस


क्लिकमान्डु