कतारबाट फर्किएपछि डेढ करोड लगानीमा गाउँमै कुखुरापालन



बागलुङ । १२ वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । ६ हजार कुखुरा पाल्न मिल्ने फार्म बनाएका उनले तीन हजार चल्ला थप्ने तयारी गरिरहेका छन् ।

एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ । फार्ममा गाई र बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको पाँच वर्ष भयो । सामूहिक रूपमा थालिएको फार्म पछिल्लो तीन वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आएका छन् ।

“कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण हुन्छ, ६ महिनासम्म हुर्काएका कुखुराले फुल पार्न थालेपछि आम्दानी हुन्छ, त्यो समयसम्म लगानीमात्र गर्ने हो, बजार अस्थिर छ ।

अण्डाको मूल्यमा उतारचढाव हुन्छ, तर हिम्मत हारिएन । अहिले फार्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु”, उद्यमी शर्माले भने । उनको फार्ममा यतिबेला प्रत्यक्ष रूपमा चार जनाले रोजगारी पनि पाएका छन् ।

यहाँबाट हाल दैनिक तीन हजार अण्डा बागलुङमा खपत हुने गरेको शर्मा बताउँछन् । तीन हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन रु २५ लाख लाग्ने भन्दै उद्यमी शर्माले व्यावसायिक रूपमा गाई र बाख्रा पाल्ने योजना सुनाए । हालसम्म सबै खर्च जोड्दा १ करोड ५० लाख लगानी पुगेको शर्माको भनाइ छ ।


क्लिकमान्डु