अमेरिकी उप-विदेशमन्त्री नेपालमा, एमसीसी कार्यान्वयनमा आएपछि अमेरिकनको उपस्थिति बढ्यो
काठमाडौं । अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्मा नेपाल आएका छन् ।
उप-विदेशमन्त्री रिचार्डले नेपाल भ्रमणको क्रममा नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ । नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट लिने निर्णय गरेपछि नेपालमा उच्च तहको अमेरिकनहरु भ्रमणमा आउन थालेका छन् ।
एमसीसीका सेक्टर अपरेसन प्रबन्ध निर्देशक केभिन मिचेल नेपाल भ्रमणमा छन् । एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलाई समर्थन गर्न एमसीए-नेपाल र अन्य सरकारी नेतृत्वहरूसँग भेट्न केभिन यो हप्ता नेपालमा रहनेछन् । । उनी एमसीए-नेपालको कार्य प्रगतिबारे बुझ्न नेपाल आएका हुन् ।
अमेरिकी अनुदान सहयोगमा नेपालमा ५० करोड अमेरिकी डलर खर्चेर सडक र हाइ भोल्टेज प्रसारणलाइन निर्माण गर्न लागिएको छ ।
एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल-भारत सीमासम्म ३१५ किमी लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन भइरहेको छ ।
एमसीए-नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाएको छ । एमसीए-नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि आउदो भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।