प्रदेश र महानगरले घोषणा गरेको बजेट दिएनन्, जितेको ५ महिना बित्दा पनि पुरस्कारका लागि खेलाडीको ताकेता

'खेलाडी बसेको होटल र अम्पायरलाई छैन पैसा'



विजयी टिमलाई ट्रफी दिँदै तत्कालीन मुख्यमन्त्री कार्की

विराटनगर । विराटनगर १९ मा रहेको प्रस्तावित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा चैत पहिलो साता विभागीय टोली त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई ९ विकेटले हराउँदै प्रथम कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो ।

आयोजकले विजेता टोलीलाई ट्रफीसहित ५ लाख नगद र उपविजेतालाई ३ लाख दिने घोषणा गरेका थिए । तर प्रतियोगिता सकिएको पाँच महिना बितिसक्दा पनि विजेता र उपविजेता दुवै टिमले नगद पुरस्कार पाउन सकेका छैनन् । प्रदेश सरकार र विराटनगर महानगरपालिकाले प्रतिवद्धा जनाएको आर्थिक सहयोग उपलब्ध नगराउँदा आयोजकले पुरस्कारको रकम दिन नसकेको हो ।

आयोजकसँग उक्त पुरस्कार दिने धनराशी छैन ।

कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री केदार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने आश्वासन दिएपछि क्रिकेट संघ मोरङले ७६ लाख रुपैयाँ खर्चेर गत फागुन २२ देखि चैत ७ गतेसम्म प्रथम कोशी प्रदेश स्तरीय राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको भव्य आयोजना गरेको थियो ।

प्रतियागिताको उद्घाटन र समापन समारोहका मुख्य अतिथि तत्कालीन मुख्यमन्त्री कार्की थिए । उद्घाटन र समापन दुवै समारोहमा उनले आफू नेतृत्वको प्रदेश सरकार खेलप्रेमी भएको उदघोष गर्दै यो प्रतियोगिता प्रदेश सरकार आफैंले आयोजना गरे झै भएको र आर्थिक कुरामा चिन्ता नलिन आयोजक र सहभागी टीमका खेलाडीलाई आस्वस्त पार्दा तालीको गडगडाहट पाएका थिए ।

तत्कालीन मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ४० लाख र महानगरका मेयर कोइरालाले ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।

आयोजक मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहमदसदा कुरेसी वावुले क्लिकमान्डुसँग भने,’प्रदेश सरकार र महानगरपालिकाले प्रतिबद्धता जनाए अनुसारको आर्थिक सहयोग उपलब्ध नगराउँदा प्रतियोगिता सकिएको पाँच महिना बित्दा पनि बिजेता र उपविजेतालाई पुरस्कार राशी दिन सकिएको छैन ।’

प्रदेश सरकार र महानगरपालिकाले ४५ लाख दिने लिखित प्रतिबद्धता जनाएका थिए । त्यसवाहेक अन्य दाता र प्रायोजकसँग ३१ लाख संकलन गरेर कुल ७६ लाखको लागतमा प्रतियोगिता सम्पन्न गरिएको बताए। ‘प्रतिवद्धताअनुसार प्रदेश सरकार र महानगरले आर्थिक सहयोग नगर्दा विजेता र उपविजेता टिमलाई पुरस्कार मात्र नभएर खेलाडी बसेको होटल खर्च र अम्पायरलाई अम्पायरिङ शुल्क समेत दिन सकिएको छैन,’ उनले भने ।

पुरस्कार, खेलाडी बसेको होटल खर्च र अम्पायरलाई गरेर आयोजकले अझै करिब २५ लाख तिर्न बाँकी रहेको उनी बताउँछन् । उनले भने,’विजयी टिमका खेलाडीले पुरस्कार खोइ भन्दै फोन गर्छन्,’ उनले भने, ‘म जवाफविहीन हुने गरेको छु ।’

मुख्यमन्त्री कार्कीले प्रतिवद्धता जनाएको ४० लाख मध्ये प्रदेश सरकारले २० लाखमात्र दिएको उनले बताए । ‘महानगरले ५ लाख दिने भनेकोमा एकलाख मात्र दिनेभयो र महानगरले दिने भनेको एकलाख हामीले लिएनौं,’ अध्यक्ष वावुले भने, ‘भाषण गर्ने मञ्च पाउँदा नेता र जनप्रतिनिधिहरुले ठूला ठूला कुरा बोल्ने, मिठा आश्वासन दिने अनि मञ्च बाहिर पुगेपछि प्रतिवद्धता बिर्सिने चरित्रले खेलकुदका संघसंस्था अप्ठयारोमा परे ।’

विजयी टिमलाई पुरस्कार र प्रतियोगिता आयोजना गर्दा लागेको खर्च आयोजक समितिका पदाधिकारीले निजी सम्पती बिक्री गरेर तिर्नुपर्ने अवस्था आएको छ ।

प्रदेश सरकारले प्रतियोगिता सकिएको एक महिनापछि कवोल गरेको आधा रकम दियो । वैशाख अन्तिम साता कार्की मूख्यमन्त्रीबाट हटेपछि प्रदेश सरकारको खेलकुदको जिम्मेवारी सम्हाल्ने सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले कार्कीको पालामा विनियोजित कुनै पनि खेलकुलसँग सम्बन्धित बजेट नै निकासा नगरेको पूर्वमुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवश राजबंशीले बताए ।

‘त्यतिबेला मुख्यमन्त्री कार्कीले विराट गोल्डकपलाई २५ लाख र प्रदेश स्तरीय राष्ट्रिय क्रिकेटलाई ४० लाख दिने प्रतिबद्धता जनाएका थिए । तर उनी पदबाट खुस्केपछि सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईले कमिशन माग्दै खेलकुदका संघ संस्थालाई रकम नै दिएनन्,’ राजबंशीले भने,’खेलकुदका लागि रकमान्तर भएर आएको एक करोड ६६ लाख रुपैयाँको कमिशन मागे । कमिशन नपाउने भएपछि उनले मन्त्रिपरिषदमा प्रस्तावै नलगि बजेट नै फ्रिज गराए ।’

प्रदेश सरकारले सहिद मैदानमा सम्पन्न सातौं दिवा रात्रीकालीन विराट गोल्डकप फुटवल प्रतियोगिताको २५ लाख रुपैयाँ पनि उपलब्ध गराएको छैन ।

साउन पहिलो साता सामाजिक विकास मन्त्रालयका सचिव भट्टराई र पूर्वमूख्यमन्त्री कार्कीबीच यसै विषयमा तितो सवालजवाफ भयो । कार्कील सचिव भट्टराईलाई क्रिकेट र फुटबल खेलको रकम तत्काल भुक्तानी नदिए ट्वाइलेटमा थुन्ने चेतावनी दिएका थिए । त्यसपछि सचिव भट्टराईको सुरक्षाका लागि स्थानीय प्रशासनले पिएसो उपलब्ध गराएको छ । यो विषयमा कुराकानी गर्न खोजिए पनि सचिव भट्टराई सम्पर्कमा आउन चाहेनन् ।

प्रतियोगिताको फाइनल खेलमा कर्णालीले प्रस्तुत गरेको १ सय ११ रनको सामान्य विजयी लक्ष्य आर्मीले एक विकेटको क्षतिमा १२.२ ओभवरमा सजिलै पार गर्दै उपाधि थापेको थियो । त्यसमा प्लेयर अफ द टुर्नामेन्ट र प्लेयर अफ द फाइनल तृतराज दासले ३३ वलमा अविजित अर्धशतकीय इनिङ खेलेका थिए ।


विनोद भण्डारी