कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन: सरुवा-बढुवाका लागि मन्त्री र नेताको घर नजानू



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवक कर्मचारीहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको भन्दै सबैलाई समान व्यवहार गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले कर्मचारीहरुलाई सरुवा-बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि निर्देशन दिए ।

तर सरुवा-बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न पनि उनले आग्रह गरेका थिए । यस्तै सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने उनको भनाइ थियो । ललितपुरमा बुधबार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम—२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कर्मचारीहरु यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न पनि उनले आग्रह गरेका थिए । उनले भने, ‘राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने यदाकदा त्यस खालका प्रवृत्तिहरु पनि देखा पर्ने गर्दछन् । सेवाग्राही टाइसुट लगाएर आएको होला, चश्मा, कोट लगाएर आएको होला । झुत्रेझाम्रो पोशाकमा आएको होला । त्यो सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्नेछ ।’

यस क्रममा उनले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए । सेवाग्राही जो र जस्तोसुकै भए पनि हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र उसको पोशाकको आधारमा फरक व्यवहार नगर्न उनले सबैलाई सचेत गराएका थिए ।

‘विषयको आधारमा एस भन्न सक्नुपर्छ । नो भन्न सक्नुहुन्न भने तपाईं आफ्नो हाकिमको सामुन्ने , आदेश, त्यो भन्दा माथिको आदेश, यदाकदा मन्त्रीको आदेश आउला । त्यो आदेश कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएको छ भने त्यस्तो अवस्थामा नो भन्न सक्नुपर्छ । यो मिल्दैन, म गर्न सक्दिनँ भन्न सक्नुपर्छ । हाकिम, मन्त्रीसँग डराउनुहुन्छ भने असल राष्ट्रसेवक बन्न गाह्रो हुन्छ । तपाईं डराउने दुई, तीन वटामा हो । तपाईंले सम्पादन गर्ने काम कानूनसँग बाझिएको छ कि छैन, त्यसमा डराउनुपर्छ, आम नागरिक र राष्ट्रहितसँग बाझिने छ भने डराउनु पर्छ । हाकिम र मन्त्रीसँग विषयको आधारमा सही र गलत भन्नसक्ने त्यो सामर्थ्य हुनुपर्छ,’ अर्थमन्त्री पौडेलले भने ।


क्लिकमान्डु