स्‍निकर्स उत्पादक मार्सले ४० खर्ब ५ अर्बमा केलोग्स कम्पनी खरिद गर्दै



पारिवारिक व्यवसायबाट स्थापित मार्सले स्निकर्स विक्रीबाट वार्षिक रुपमा ३८ करोड अमेरिकी डलरभन्दा बढी कमाउने गरेको छ । साथै यो विश्वभर सबैभन्दा बढी विक्री हुने क्यान्डी बारको रुपमा स्थापित छ ।

एजेन्सी । स्निकर्स, एमएन्डएम जस्ता क्यान्डी उत्पादन गर्ने मार्सले केलानोभा कम्पनीलाई खरिद गर्ने सम्झौता गरेको छ । केलोग्स नामबाट पनि चिनिने उक्त अमेरिकी कम्पनीलाई हालै मार्सले ३० अर्ब अमेरिकी डलर (४० खर्ब ५ अर्ब ६३ करोड नेपाली रुपैयाँ) मा खरिद सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मार्सले प्रति सेयरका लागि ८३.५० डलर तिर्ने पनि बताइएको छ । साथै मार्सले प्रिंगल्स, चिज इट लगायत खाद्य सामग्री उत्पादनका लागि नयाँ ट्याब खोल्ने पनि बताइएको छ । मार्सले नयाँ ट्याबबारे बुधबार घोषणा गर्ने पारिवारिक स्रोत उल्लेख गर्दै रोयटर्सले जनाएको छ ।

यद्यपि केलानोभा र मार्सले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । रोयटर्सले भने यसै महिनाको सुरुमा मार्सले केलानोभा खरिदको सम्झौता प्रस्ताव अगाडि बढाएको विषयमा पहिलो पटक समाचार सार्वजनिक गरेको थियो । यसैबीच मार्सका लागि केलानोभा खरिद सम्झौता अहिलेसम्मकै ठूलो हुने पनि बताइएको छ ।

स्निकर्स, क्यान्डी बार लगायत चकलेटजन्य वस्तु उत्पादन गर्ने अमेरिकी कम्पनी मार्सका उत्पादनहरु विश्वकै सर्वाधिक विक्री हुने प्याकेजिङ खाद्य वस्तुमा पर्छन् । अमेरिकाको पुरानो पारिवारिक व्यवसायको रुपमा स्थापित मार्सले १०३० मा पहिलो पटक स्निकर्सलाई विश्वभर चिनाएको थियो ।

स्निकर्स ओरिजिनल, स्निकर्स मिल्क चकलेट, स्निकर्स आलमोन्ड, स्निकर्स पिनट बटर, स्निकर्स ह्वाइट चकलेट लगायत स्निकर्सका विभिन्न १२ प्रकारका चकलेट जन्य वस्तु बजारमा उपलब्ध छन् । विश्वभर स्निकर्सको वार्षिक विक्री ३८ करोड अमेरिकी डलरभन्दा बढी छ । साथै यो विश्वभर सबैभन्दा बढी विक्री हुने क्यान्डी बार पनि हो ।

अमेरिकाको सिकागोमा कार्यालय रहेको केलानोभा फुड मेनुफेक्चरिङ वहुराष्ट्रीय कम्पनीको रुपमा प्रसिद्ध छ । आम रुपमा केलोग्सको नामबाट चिनिने यस कम्पनीले क्रेकर्स, प्रिंगल्स, चिज इट, लगायतका स्न्याक्स विक्री गर्दै आएको छ । यसवाहेक राइस क्रस्पी, कर्न फ्लेक्स लगायत यसका ब्रान्ड विश्वभर लोकप्रिय छन् ।


क्लिकमान्डु