रेमिट्यान्स कम्पनी मर्जरमा पनि पहिलो बने चन्द्र ढकाल: आईएमई र जीएमईको एकीकृत कारोबार सुरु



काठमाडौं । बैकिङ क्षेत्रमा सबैभन्दा धेरै र ठूला मर्ज गराएका व्यवसायी चन्द्र ढकाल रेमिट्यान्स कम्पनी मर्जर तथा प्राप्तिमा पनि पहिलो बनेका छन् ।

आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्ति गरेको छ । प्राप्तिपछिको एकीकृत कारोबारको शुभारम्भ बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरे । आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेपछि आइएमई लिमिटेडको नामबाट कारोबार भएको हो ।

कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुनेछ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।

दुबै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।

आईएमईको अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् । उनी निजी क्षेत्रको छाता संगठन नेपाल उधोग वाणिज्य महासंघ र ग्लोबल आईएमई बैंकका समेत अध्यक्ष हुन् ।

आईएमईले प्राथमिक सेयर (आईपीओ) पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । मर्जपछि कम्पनीले १० प्रतिशत सेयर सार्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ । अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पनि आवेदन दिइसकेको छ ।

नेपालको पहिलो रेमिट्यान्स आईएमई सरकारलाई सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित छ ।


क्लिकमान्डु