भ्रष्टाचार सम्बन्धी कानुनमा हदम्याद राख्नेकुरा सह्य हुँदैन: रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार सम्बन्धी कानुनमा हदम्याद राख्नेकुरा सह्य नहुने बताएको छ ।

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो ।

बैठकमा भ्रष्टाचारसम्बन्धी कानुन बनिरहेको र त्यसमा हदम्याद राख्नका लागि राजनीतिक दलहरुले प्रयास गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरुले गम्भीर त्रुटी गरिरहेको उनको भनाइ छ ।

‘भ्रष्टाचारसम्बन्धी कानून जुन बनिरहेको छ, त्यमसा हदम्याद राख्नेकुरा कदाचित स्वीकार्य छैन । भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका भए चल्नुपर्छ,’ उनले भने, ‘ निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउनेबाटोमा राजनीतिक दलहरुले गम्भीर त्रुटी गर्दैछन्, त्यो रास्वपाले स्वीकार गर्दैन । त्यसलाई पनि बेजोडका साथ सदनमा उठाउने ।’

पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने उनको भनाइ छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जलन सम्बन्धी गैरसरकारी विधेयक संसदमा आज नै दर्ता गर्नेगरी छलफल भइरहेको बताए ।

‘मुलतः हामीले तीनवटा विषयमा छलफल चलाएका छौँ । एउटा राष्ट्रिय स्वतन्त्र पार्टीले जलन सम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ । त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ । जलन सम्बन्धी विधेयक अन्तिम छलफल हुँदैछ र सम्भवतः आज नै दर्ता गर्नेछौँ,’ उनले भने, ‘संसदको कानून समितिले जुन संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधि सभामा प्रश्तुत गर्ने भनिएको छ, त्यसमा पनि छलफल चलायौँ र आगामी दिनमा संसदको गतिविधिहरु कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरुमा पनि छलफल भयो । सर्वसहमतिले अघि बढाउने र संक्रमणकालीन न्यायका बारेमा नेताहरु बोल्दा समर्थनमा बोल्ने कुरा भएको छ ।’


क्लिकमान्डु