आर्थिक सुधारको नेतृत्व कांग्रेसले लिनुपर्छ: विनोद चौधरी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले कांग्रेसले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा राखेका धारणाबारे चौधरीले यस्तो बताएका हुन् । नेपाली कांग्रेस इतिहास र विगतका अर्थतन्त्रका सुधारका कामले पनि मुलुकको दोस्रो चरणको अर्थतन्त्र सुधारको नेतृत्व लिन चुकेको उनले बताएका थिए ।

उनले संकुचनमा गएको अर्थतन्त्रको दोस्रो चरणको सुधार गर्नेगरी नेपाली कांग्रेसले पार्टीको स्पष्ट दृष्टिकोण बनाएर जान आवश्यक रहेको सुझाव दिए । तर कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म अस्पष्ट रहेको उनले बताएका थिए ।

अब कांग्रेसको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ ढंगले परिभाषित गर्ने बेला आएको सांसद चौधरीको धारणा थियो । नेपाली कांग्रेसले राजनीतिक आन्दोलन मात्रै नभई आर्थिक नीति र दृष्टिकोणमा रहेका अस्पष्टता हटाउन जरुरी रहेको चौधरीको भनाइ छ ।

‘मुलुकको अर्थतन्त्र सजिलोसँग हेरे पनि अवस्था त्यस्तो छैन । नेपाली कांग्रेसले २०४८ सालमा गरेको नयाँ उदार अर्थतन्त्र निजी क्षेत्र निर्देशित अर्थतन्त्रबाट राज्यले परिवर्तन भोग्यो । त्यसैको भरमा अहिले राज्य चलिरहेको छ । अब सधैँभरी त्यसैको भरमा राज्य चल्न सक्दैन । त्यो कामको इतिहासमा नेपाली काँग्रेसलाई हेर्ने हो २००८ सालमा पहिलो बजेटमा बैक खोल्ने कुरा गरेको रहेछ । २००८ साल देखि अर्थतन्त्रलाई रुपान्तरण गर्ने क्रान्ति गर्ने पार्टीले अहिले आएर दोस्रो चरणको अर्थतन्त्र सुधार गर्न किन उदासिन देखिएको छ,’ चौधरीले भने ।

यस्तै कृषि उत्पादन दिनप्रतिदिन कम हुँदै जाँदा जीडीपीमा यसको अंश २५ प्रतिशत घटेको उनको दाबी थियो । तर कृषिमा निर्भर जनसंख्याको अनुपात ५० प्रतिशतभन्दा बढी हुँदा यसले कृषि क्षेत्रमा जोडिएका जनताहरुको अवस्था कमजोर बन्दै गएको उनले औंल्याएका थिए ।

उनले भने, ‘दुई वर्षदेखि राजश्वको वृद्धिदर २० प्रतिशत हुने गरेको थियो । तर त्यो भएको छैन । त्यो नहुनु भनेको अर्थतन्त्र संकुचित हुँदै गएको देखिनु हो । डेढ लाख भन्दा बढी विद्यार्थी विदेशमा डेढ खर्ब राज्यको खर्च गरेर गएका छन् । १ करोड भन्दा बढी नेपालीहरु बाहिर गइसकेका छन् । विमानस्थलमा ६ महिनाको साना नानी छाडेर जानुपर्दाको हृदय विदारक पीडा मैले पनि देखेको छु । युवाहरु विदेशमा कुनै खुसी भएर गएका होइनन् । मुलुकमा रेमिट्यान्स धेरै आउँछ तर त्यसभित्र सामाजिक द्वन्द्व ,सामाजिक पीडा र विचलन पनि लुकेको छ ।’


क्लिकमान्डु