मालपानी खाएर क्यानमा प्रमुख नियुक्त गर्नेले दुर्घटनाको जिम्मा लिनुपर्छ: सांसद शाह (भिडियो)



काठमाडौं । सांसद प्रभु शाहले पछिल्लो समय भइरहेको हवाई दुर्घटनाले नेपालको छवि ध्वस्त बनाइरहेको बताएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद शाहले नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने थियो त्यसलाई पछिल्ला हवाई दुर्घटनाले पुष्टी गरेको बताए ।

‘यसलाई ढापछोप गर्ने कि सुधार गर्ने ?,’ उनले भने, ‘कतिपयले अन्तर्राष्ट्रिय छवि बिग्रन्छ भनेर ढाकछोप गर्न लागेका छन् ।’

सरकारकी निकाय पछिल्ला हवाई दुर्घटनामा पनि सचेत नभएकोले घामट छ भन्ने देखाएको उनको भनाइ छ । ‘राज्य भनेको मान्छे मार्नलाई हो ?,’ उनले भने, ‘थोत्रो हेलिकप्टर उडाएर मान्छे मारेको देखियो । नियमन गर्ने निकायको नेतृत्वकर्ताले जवाफ दिनु पर्दैन ।’

उड्डयन प्राधिकरणको नेतृत्वलाई नियुक्त गर्नेले जिम्मा लिनु पर्ने उनको भनाइ छ ।

‘पैसा खाएर नियुक्त र सरुवा गर्ने जसले गरेको छ त्यो नैतिक रुपमा जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘नियमनकारी निकाय चुस्त दुरुस्त भएको भए यस्तो हुने थिएन ।’

उनले सरकारले नैतिकता नदेखाएको भन्दै छानबिन समिति जनतालाई भ्रममा पार्न बनाइने गरिएको बताए ।

‘छानबिन समिति साच्चिकै छानबिन गराउनका लागि हो ? हो भने पदबाट राजीनामा गरेर गराउनु परो नि !’ उनले भने, ‘अपराधी र दोषीलाई ढाकछोप गर्ने जनतालाई गुमराह गर्ने काम भयो ।’

उनले नेतृत्वलाई अलग राखेर पुच्छारलाई जवाफदेहि बनाउने प्रयास भइरहेको बताए । ‘मौसम, पाइलट, सानो इन्जिनयरलाई दोषी देखाउने अनि मुख्य नेतृत्वले केही पनि गरेको छैन?’ उनले भने ।

प्राधिकरणमा पैसा खाएर नियुक्त गरिएको उनको आरोप छ । ‘मालपानी लिएर नियुक्ति गर्नुहुन्छ मालपानी लिएर पठाउनु हुन्छ अनि केही जिम्मा हुँदैन भन्न मिल्छ?’ उनले प्रश्न गरे ।

राम्रो काम गरेको भन्दै हिँड्ने नेतृत्वले नराम्रो कामको पनि जिम्मेवारी लिनु पर्ने भए पनि सरकारले गैरजिम्मेवारी प्रदशर्न गरिरहेको उनले बताए ।

समितिले सरकारलाई सिधै नैतिकताको आधारमा जिम्मा लिनु भनेर निर्देश गर्नुपर्ने उनको माग छ ।


क्लिकमान्डु