हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)



काठमाडौं । शिवपुरी गाउँपालिकाको सूर्यचौरमा बुधबार भएको हेयर डाइनस्टीको हेलिकप्टर दुर्घटनाको क्रममा पाँचै जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा चार जना चिनियाँ पर्यटकहरु र एक नेपाली पाइलट रहेको सूर्यचौरका वडाध्यक्ष वीरबहादुर तामाङले जानकारी दिएका छन् ।

ज्यान गुमाउनेमा चिनियाँ नागरिक थाङ चीउथाव, उ इयाव, लीई चीअ, सी चीमीङ र नेपाली क्याप्टेन अरुण मल्ल रहेका छन् । वडाध्यक्ष तामाङले उनीहरुको शव भेटिएको जानकारी दिए । साथै हेलिकप्टर रुखमा ठोकिएर रुख नै जलेको अवस्थामा रहेको उनले बताए ।

बुधबार अपराह्न १:४५ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर ३ बजेतिर मात्रै दुर्घटना भएको पुष्टि भएको हो । जवकि हेलिकप्टर सम्पर्कविहीन भएको १ घण्टापछि मात्रै दुर्घटना भएको पुष्टि भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको एक महिना नपुग्दै बुधबार हेलिकप्टर दुर्घटना भएको हो ।

नेपाली आकाशमा बारम्बार हवाई दुर्घटना हुनुमा नागरिक उड्डयन प्राधिकरणको लापरबाही रहेको भन्दै प्रश्न उठिरहँदा बुधबारको हेलिकप्टर दुर्घटनामा पनि सम्पर्कविहीन भएको १ घण्टासम्म सम्बन्धित निकायबाट खोजीको कुनै प्रयास भएको थिएन ।


क्लिकमान्डु