वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो



काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा एक नेपालीसहित ४ विदेशीको मृत्यु भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

शिवपुरी गाउँपालिका-७ सूर्यचौरका वडाध्यक्ष अध्यक्ष वीर बहादुर तामाङले हेलिकप्टर सूर्यचौरमा रहेको जंगलको एक रुखमा ठोक्किएको पाइएको बताए । जसले गर्दा रुख पूरै जलेको उनको भनाइ छ ।

‘हेलिकप्टर रुखमा ठोक्किएको रहेछ । जसले गर्दा रुख नै जलेको छ,’उनले भने, ‘पाँच जनाको शव भेटिएको छ ।’

कलसाइन ९एनएजेडी भएको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार १ बजेर ४५ मिनेटमा रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । बुधबार अपराह्न १:४५ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर १ घण्टापछि मात्रै शिवपुरीबाट सम्पर्कविहीन भएको खबर आएको थियो ।

२:४५ बजेतिर मात्रै खोजी गर्ने क्रममा हेलिकप्टर सूर्यचौरमा दुर्घटना भएको पुष्टी भएको हो । जहाँ पाइलट अरुण मल्लसहित अरु चार जना चिनियाँ पर्यटक सवार थिए ।


क्लिकमान्डु