अन्तरिम सरकार प्रमुख बन्दै छन् नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुस ?



एजेन्सी । बंगलादेशमा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भागेपछि नयाँ सरकार गठनका विषयमा बहस भइरहेको छ । बंगलादेशी सेनाले अन्तरिम सरकार बनाउने बारे छलफल गरिरहेको जनाएको छ ।

आरक्षणविरुद्ध आन्दोलन गरेर हसिनालाई राजीनामा दिन बाध्य पारेका आन्दोलनकारी विद्यार्थी नेताहरुले मोहम्मद यूनुसलाई अन्तरिम सरकारको प्रमुख बनाउन माग गरिरहेका छन् ।

बंगलादेशमा भेदभाव विरोधी छात्र आन्दोलनका नेता नाहिद इस्लामले हसीनाको राजीनामापछि देश चलाउनका लागि गठन हुने अन्तरिम सरकारको प्रमुखमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्रोफेसर मुहम्मद यूनुसको नाम प्रस्ताव गरिएको जानकारी दिए।

उनले राष्ट्रपतिसँग चाडोभन्दा चाडो प्रोफेसर यूनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन आग्रह गरेको बीबीसीले जनाएको छ ।

आन्दोलनको समन्वयक मध्येका एक नाहिद इस्लामले मंगलवार बिहान सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै नाम प्रस्ताव राखेका थिए । त्यस समय
उनका साथ कोअर्डिनेटर आसिफ महमूद र अबू बक्र मजूमदार पनि उपस्थित थिए ।

इस्लामले अन्तरिम सरकारको प्रमुख बन्नेबारे प्राध्यापक यूनुससँग कुरा भएको बताए ।
‘हामीले मोहम्मद यूनुससँग पनि कुरा गरेका छौं । उनी विद्यार्थीको अपिलमा बंगलादेका लागि यो महत्वपूर्ण जिम्मेवारी लिन सहमत भएका छन् ।’

आरक्षण विरोधी विद्यार्थी आन्दोनले सल्लाहकार परिषद्का अन्य सदस्यको नाम पनि चाँडै घोषणा गर्ने जनाएका छन् ।


क्लिकमान्डु