डेडिकेटेड ट्रंकलाइनका विषयमा लेखा समितिका सभापतिले रहस्यमय घटनाक्रम अघि बढाए: सापकोटा



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा रहस्यमयी घटना अघि बढाइरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभामा बोल्दै उनले समितिका सभापति ऋषिकेश पोखरेलले रहस्यमय घटनाक्रम अघि बढाएकाले साभामुख देवराज घिमिरेलाई रुलिङ गर्न माग गरे ।

उनले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका सदस्यद्धय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने सरकारको निर्णयको भत्सर्ना गरेका छन् । सरकारलाई असहयोग गरेको भन्दै दुवै सदस्यलाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेर आइतबार हटाएको हो ।

सांसद सापकोटाका अनुसार डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद सम्बन्धमा छानविन गर्न सार्वजनिक लेखा समितिले उपसमितिले बनाएको थियो ।

२०७६ सालमा बनेको मिनेन्द्र रिजालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको थियो । उक्त समितिले ८ महिना लगाएर १७ पेजको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा लेखा समितिको बैठकले विद्युत प्राधिकरणलाई समयमै महसुल नतिर्नेग्राहकहरुलाई हालसम्म कुनै कारबाही नगरेको भन्दै कारबाही गर्न गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै असुली सम्बन्धमा प्राधिकरणलाई आर्थिक क्षति हुने र दायित्व बढ्ने कुनै निर्देशन नदिने निर्णय गरेको हो थियो ।

‘समितिहरु अविच्छिन्न उत्तराधिकारवाला संस्था हुन् त्यतिबेलाको लेखा समितिले गरेको निर्ण कार्यान्वयन गर्नुको साटो समिति उल्टो बाटोमा हिँड्यो । सरकारका स्वार्थहरु बाझिएका निर्णय उपर निगरानी गर्ने, संसदीय रुपमा खबरदारी गरे र निर्देशन दिने समितिको काम स्पष्ट छ,’ उनले भने,’ सरकारले गर्न खोजेको काम अनैतिक र आपत्तीजनक छ । सभापतिले उद्योगीहरुसँऊ रहस्यमयी भेट्नु भएको छ । भिभान्त होटल सरकारी कार्यालय हो ?’

शुक्रबार लेखा समितिले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विवाद सम्बन्धमा उद्योगी, प्राधिकरण, ऊर्जा मन्त्रालय, विद्युत नियमन आयोग, महालेखालगायत सरोकारवाला निकायसँग छलफल गरेको थियो ।


क्लिकमान्डु