सम्पदामैत्री सडक र भवनले पर्यटक आकर्षित हुन्छन्: बालेन शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शहले महानगरमा सम्पदामैत्री सडक र भवनहरुको निर्माणमा जोड दिने बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिका-८ को प्रशासनिक भवन उद्घाटन कार्यक्रममा मेयर शाहले यस्तो बताएका हुन् ।

यस क्रममा उनले पशुपति क्षेत्रका सडकहरु चाँडो र तीब्र गतिमा बन्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए । विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको उनको भनाइ थियो । सम्पदामैत्री क्षेत्र, सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेहेको मेयर शाहको भनाइ थियो ।

तर उनले आफू धेरै बोल्ने वा भाषण गर्नेभन्दा पनि काम गरेर देखाउने बताएका थिए । प्रमुख शाहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताएका थिए । बिहीबारको भवन उद्घाटन कार्यक्रमलाई पनि भव्य बनाउनुको सट्टा छिटो छरितो बनाउनुपर्ने सुझाव दिएका थिए ।

साथै सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने पनि उनको राय थियो । सम्पदा शैलीका सडक र घर भवनहरु भए पर्यटकहरु अझै धेरै आकर्षित हुने उनले बताएका थिए ।

‘चाँडो र तीब्र गतिमा यहाँका सडकहरु बन्दै जानेछन् । बन्दै पनि छन् । ढुङ्गा छापिएका बाटोहरु भर्खरै छतबाट हेर्दै पनि थियौं । विशेषगरी पशुपति क्षेत्र आफैंमा सम्पदा क्षेत्र भएको हिसावले जसरी वडा भवनको मुहार देखिएको छ । आगामी दिनहरुमा हाम्रो वडा अध्यक्ष, जनप्रतिनिधिज्यूहरु र कर्मचारीहरुको सहकार्यले सम्पदामैत्री सडक र घरहरुको मुहार यस्तै देखियोस् भन्ने चाहना छ । त्यसको लागि काठमाडौं महानगरले बजेट पनि राखेको छ,’ मेयर शाहले भने ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको वडा ८ ऐतिहासिक, सांस्कृति र पूरातात्विक रुपमा महत्व बोकेको वडा भएको भन्दै यहाँका बस्तीहरुलाई सांस्कृतिक र पूरातात्विक रुपमा पर्यटकीय रुपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएकी थिइन् ।


क्लिकमान्डु