किन यति धेरै कमजोर बन्यो नेपाली पासपोर्ट ?



  • आदिल अली

नेपाली राहदानी (पासपोर्ट) विश्वमा सबैभन्दा कमजोर मध्ये सातौँ । ‘ह्यानले सूचकाङ्क’ मा नेपालको राहदानी कैयौँ वर्षदेखि लगातार सबैभन्दा कमजोर राहदानीको लहरमा आउने गरेको छ । स्थिति यतिसम्म खराब बनेको छ कि एसियाका पर्यटकीय गन्तव्यहरू इन्डोनेसियाको बाली, थाईल्याण्ड र मलेशियाले पनि नेपालीलाई ‘अन अराइभल’ भिसा दिन छोडेको धेरै वर्ष भयो।

अन्तर्राष्ट्रिय समुदायमा कुनै पनि मुलुकको मानप्रतिष्ठा मापन गर्ने विभिन्न सूचक मध्ये राहदानी एउटा महत्त्वपूर्ण सूचक हो । आर्थिक, शैक्षिक लगायत अन्य प्रमुख सूचकहरूमा पछाडि परेको नेपाल राहदानीको मामिलामा अत्यन्तै कमजोर देखिएको छ ।

कमजोर नेपाली राहदानी

गएको १५-२० वर्ष यता लगातार खस्कँदै गएको नेपालको राहदानीको स्थिति सन् २०२४ मा झन् कमजोर बनेको हो । ‘ह्यानले’ को अध्ययनमा समेटिएका एक सय ९९ देशको, एक सय चार स्थान मध्ये नेपाली राहदानीको हैसियत ९८ औं स्थानमा देखिएको छ ।

एक सय चारवटा वरियता रहेको ‘पासपोर्ट र्‍याङ्किङ’ प्रतिवेदनमा एउटै स्तरमा समान हैसियतका दुई वा दुईभन्दा बढी देश पनि परेका छन् । सूचीमा नेपाल सबै भन्दा कमजोर मध्ये, सूचीको तलबाट, सातौँ स्थानमा रहेको छ । उक्त वरियतामा लिबिया र प्यालेष्टाइन पनि समावेश छन् । दक्षिण एसियाली राष्ट्रहरूको सन्दर्भमा, नेपाल पाकिस्तान र अफगानिस्तानपछि तेस्रो सबैभन्दा तल रहेको छ, अर्थात नेपाल पाकिस्तान र अफगानिस्तानभन्दा बलियो ! दक्षिण एसियाका अन्य देश बंगलादेश, भुटान, भारत, माल्दिभ्स, श्रीलंकाका पासपोर्ट नेपालकोभन्दा बलिया छन् ।

नागरिकले बोक्ने सामान्य राहदानीले विदेश यात्राका क्रममा पाउने प्रतिष्ठा र स्वतन्त्रताका आधारमा विश्वभरका देशहरूको ‘पासपोर्ट र्‍याङ्किङ’ गर्ने ‘ह्यानले पासपोर्ट सूचकाङ्क’ का अनुसार सन् २०२४ मा भारतीय राहदानी ८० औं स्थानमा छ भने चिनियाँ पासपोर्ट ६२ औं स्थानमा छ ।

हाम्रो छिमेकी भुटान ८७ औं स्थानमा छ भने माल्दिभ्स ५८ औं, श्रीलंका ९६ औं, र बंगलादेश ९७ औं स्थानमा छन् । दक्षिण एसियाका दुई सबैभन्दा कम र्‍याङ्किङ भएका देश, पाकिस्तान र अफगानिस्तानको राहदानी क्रमशः १०१ औं र १०४ औं, अन्तिम, स्थानमा छन् । ह्यानलेले हालै सार्वजनिक गरेको २०२४ को शक्तिशाली राहदानी सूचीअनुसार, नेपाल अन्तिमबाट सातौँ स्थानमा छ र समग्रमा ९८ औं स्थानमा छ ।

‘ह्यानले सूचकाङ्क’ मा हाम्रो राहदानी कैयौँ वर्षदेखि लगातार सबैभन्दा कमजोर राहदानीको लहरमा आउने गरेको छ । यसअघि ‘अन अराइभल’ भिसा दिने गरेका देशहरुले पनि भिसा दिन छोडेको धेरै वर्ष भइसकेको छ।

विगत दुई दशकदेखि खस्कँदो हैसियतको हाम्रो राहदानीका कारण विदेश जाँदा नेपालीहरूले अनेक अपमान सहनु परेका समाचार आउने गरेका छन् । र, विश्व सम्बन्धका हिसाबले हेर्दा नेपाली कमजोर अवस्थामा छन् ।

विगतमा, धेरै वटा एसियाली र यूरोपेली देशहरूले नेपाली नागरिकहरूलाई ‘अन अराइभल’ भिसा दिन्थे भने अहिले यो सुविधा दिने ४० वटा देश मात्र छन् । अर्थात् नेपाली नागरिकलाई सम्मान गर्ने देश र समाज संसारभर घट्दै छन् !

नेपालमा रहेका विदेशी राजदूतावासहरू मध्ये केहीले मात्र काठमाडौंबाट भिसा जारी गर्छन् । कतिपय राजदूतावासले कन्सुलर सेवालाई नयाँ दिल्लीमा रहेको उनीहरूको दूतावासमा सारेर नेपाली नागरिकहरूलाई त्यहिँबाट भिसा जारी गर्छन् ।

सबैभन्दा कमजोर राहदानीको सूचीमा अन्तिम आठ वरियतामा परेका ११ वटा देश मध्ये नौवटा देश मुस्लिम राष्ट्र रहेको तथ्याङ्क ह्यानलेको प्रतिवेदनमा परेको छ । सूचीको अन्त्यमा अफगानिस्तान छ भने दोस्रो र तेस्रोमा क्रमश: सिरिया र इराक छन् । पाकिस्तान चौथो दर्जामा परेको छ भने यमन पाँचौ र सोमालिया छैठौँ स्थानमा । नेपाल, लिबिया र प्यालेष्टाइन समान सातौँ स्थानमा छन् भने बंगलादेश र उत्तर कोरिया आठौँमा ।

शक्तिशाली देशका बलिया राहदानी

विश्वमा सबैभन्दा शक्तिशाली राहदानी सिंगापुरको रहेको छ । यी देशका नागरिकलाई १९५ मुलकमा जानका लागि भिसा आवश्यक पर्दैन । त्यस्तै दोस्रो वरियतामा फ्रान्स, जर्मनी, इटाली, जापान, र स्पेन रहेका छन् । यी देशका नागरिकले १९२ देशमा भिसा नलिइकन (अन अराइभल भिसा) भ्रमणमा जान पाउँछन् । अर्को शब्दमा भन्ने हो भने यी राष्ट्रका नागरिक र पासपोर्टको प्रतिष्ठा यति उच्च छ कि त्यहाँका नागरिक विश्वका लगभग सबैजसो देशमा बिनाभिसा प्रवेश गर्न पाउँछन् ।

शक्तिशाली पासपोर्टको सूचीमा आठौं स्थानमा रहेको संयुक्त राज्य अमेरिकाको राहदानी बाहकले १८६ देशमा अन अराइबल भिसाको प्रवेश पाउँछ । भारतको राहदानी ८२ औं स्थानमा छ । भारतीय राहदानीवाहकले ५८ देशमा ‘अन अराइभल’ भिसा पाउँछन् । अर्थात् ति देशमा जानका लागि भिसाका लागि थप प्रक्रियामा जानु पर्दैन, अन अराइभल भिसा गन्तव्य देशमै पुगेपछि स्वत: पाइन्छ । पासपोर्ट पेस गर्दासाथ उनीहरुलाई यात्रा अनुमति हुने छ। चीनको राहदानी ५९ औं स्थानमा छ । चिनियाँ नागरिकले ८५ देशमा ‘अन अराइभल’ भिसा पाउँछन् ।

विगत केही वर्ष यता नेपाली राहदानीको प्रतिष्ठा उल्लेखनीय रूपमा घटेको छ । विश्वव्यापी रूपमा, नेपालको राहदानी अन्तिमबाट सातौं स्थानमा छ । यो स्थितिमा सुधार गरी नेपालको प्रतिष्ठा विश्व समुदाय सामू उच्च पार्न सरकारले तत्काल आवश्यक कदम चाल्नु जरूरी छ

‘ह्यानले पासपोर्ट सूचकाङ्क’ अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट प्राप्त तथ्याङ्क तथा जानकारीमा आधारित छ । ह्यानलेको अनुसन्धान विभागले थप खोजी गरेर यो प्रतिवेदन तयार पारेको जनाएको छ ।

नेपाली पासपोर्ट सम्बन्धी यो नवीन जानकारी अधिकांश नेपाली नागरिकका लागि स्वभाविक जस्तो लाग्न सक्छ । विगत दुई दशकदेखि खस्कँदो हैसियतको हाम्रो राहदानीका कारण विदेश जाँदा नेपालीहरूले अनेक अपमान सहनु परेका समाचार आउने गरेका छन् । र, विश्व सम्बन्धका हिसाबले हेर्दा नेपाली कमजोर अवस्थामा छन् ।

नेपाली राहदानी किन कमजोर ?

नेपालको राहदानी किन यति कमजोर भयो ? विशेषज्ञहरूले अनेक पक्ष र कारणले गर्दा हाम्रो राहदानी कमजोर बन्दै गएको, राष्ट्रको प्रतिष्ठामा आँच आएको र नेपाली नागरिकले विदेश भ्रमण गर्दा अपमान सहनु परेको बताउने गरेका छन् ।

सीमित ‘अन अराइभल’ भिसा: नेपाली राहदानीले ३९ देशमा मात्र भिसारहित वा अन अराइभल भिसा पाउने गरेको छ । पासपोर्ट इन्डेक्स डट ओआरजीका अनुसार १४४ देशमा जानका लागि नेपालीलाई भिसा आवश्यक पर्छ भने ३९ देशले मात्र नेपाली पासपोर्टलाई अन अराइभल भिसा उपलब्ध गराउँछन् ।

यो भनेको जापान र सिंगापुर जस्ता देशहरूको राहदानीको तुलनामा अत्यन्तै कम । भारत, चीन, श्रीलङ्काभन्दा पनि थोरै । राहदानी कमजोर भएको परिणामका कारण भिसा प्रकृया र गन्तव्य देशले भिसा नदिँदा नेपाली नागरिकको पर्यटन, शिक्षा, र रोजगारीको अवसरहरूमा नकारात्मक असर गर्ने गरेको छ ।

राजनीतिक र आर्थिक कारण: अस्थिर राजनीति, छिट्टो-छिट्टो सरकार परिवर्तन, र आर्थिक कमजोरी समेतले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आघात पुगेको छ । त्यसैले कतिपय देश नेपाललाई भिसारहित यात्राको सुविधा दिन चाहँदैनन् ।

सुरक्षा सम्बन्धी चासो: राजनीतिक परिवर्तन, हिँसा, अपराधको बढ्दो क्रम जस्ता कारणले नेपाल प्रतिसुरक्षा चासो वृद्धि हुँदै गएको देखिएको छ ।

कूटनीतिक प्रभावको अभाव: विश्व समुदायमा नेपालको कूटनीतिक प्रभाव अत्यन्तै न्यून बनेकाले पनि हाम्रो प्रतिष्ठामा प्रतिकूल प्रभाव परेको छ । स्मरणीय छ, दुई-तीन दशक अघि यो सानो, भू-परिवेष्ठित राष्ट्रको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा निक्कै माथि थियो।

भिसा नियम उल्लङ्घन: विदेश भ्रमणमा जाँदा कतिपय नेपाली नागरिक र पदाधिकारीले भिसाका नियम उल्लङ्घन गर्ने गरेका समाचारहरू आउने गरेका छन् । यसले पनि हाम्रो विश्वसनीयतामा असर पुर्‍याएको छ ।

राहदानीको दुरुपयोग, भिसा ओभरस्टे, शरण खोज्ने बहानामा बस्न खोज्ने, अवैध आप्रवासन, र जाली कागजातहरूको बढ्दो प्रयोग ।

विगत केही वर्ष यता नेपाली राहदानीको प्रतिष्ठा उल्लेखनीय रूपमा घटेको छ । विश्वव्यापी रूपमा, नेपालको राहदानी अन्तिमबाट सातौं स्थानमा छ । यो स्थितिमा सुधार गरी नेपालको प्रतिष्ठा विश्व समुदाय सामू उच्च पार्न सरकारले तत्काल आवश्यक कदम चाल्नु जरूरी छ ।

सन्दर्भ सूची:
पासपोर्ट इन्डेक्स डट ओआरजी
ह्यानले ग्लोबल डटकम

(रूपनगर क्याम्पसका विद्यार्थीहरूले अनुसन्धान गरेर लेख्ने लेखहरूको संगालो ‘रूपनगर क्याम्पस फिचर सेवा’ अन्तर्गत् यो लेख तयार पारिएको हो । लेखक आदिल अली रूपनगर नन्दराज संग्रौला क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययन गर्छन्।)


क्लिकमान्डु