रास्वपाका सांसद अराष्ट्रिय तत्व भएको भाष्य बनाउन खोजियो: स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने बताए ।

पञ्चायतकालमा कांग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनेजस्तै अहिले रास्वपालाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले खेद व्यक्त गरे । राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल नरहने भन्दै कस्तो खालको राष्ट्रवादको अभ्यासले नेपाललाई त्यहाँ पुर्‍याएको हो भनि प्रश्न गरिन् ।

आफूहरु छिमेकी राष्ट्रहरुको उन्नयन र प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै हाक्काहाक्की संवाद गर्नसक्ने उनले बताए । रास्वपाले नयाँ कुटनीति र नयाँ राजनीतिको संस्कार बसाउन लागेको उनको भनाइ छ ।

वाग्लेले यसो भने

राष्ट्रिय स्वतन्त्र पार्टीले जलेश्वरमा एउटा प्रस्तावना तयार गरेको छ । नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक, सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारिस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरुको सामुहिक सामथ्र्य र एसियाको उदाउँदो भु–राजनीतिक महत्वलाई आत्मसात गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई सदा अक्षुण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभिष्ट रहने छ भनेर स्पष्ट राखिएको छ । विषयान्तर गर्ने, कुरो नबुझ्ने, बुझेपनि बुझ पचाउने र हाकाहाकी झुठो बोलेर पञ्चायतकालमा कांग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । रास्वपामा युवा शक्ति छ । विदेशमा पढेका, अनुभव हासिल गरेका । यिनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन सक्नुहुन्न । अक्षमताको आरोप लगाउन सक्नुहुन्न । पञ्चायतकालिन स्मरण गर्दै अराष्ट्रिय तत्वतिर भाष्य निर्माण गर्दै छौँ त्यो खेदजनक छ । त्यसलाई हामी डटेर सामना गर्छौं । राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल रहने थिएन । कस्तो खालको राष्ट्रवादको अभ्यासले तपाईहरुले नेपाललाई त्यहाँ पुर्‍याउनुभयो ? हामी छिमेकी राष्ट्रहरुको उन्नयनमा, प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै लिने । हाक्काहाक्की सम्वाद गर्ने । आँखामा आँखा जुधाएर कुराहरु राख्ने । हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखहरुलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन । कुनै नदिनालाका सन्धिहरुलाई देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुःशाहस गर्नु पनि छैन । हामी नयाँ कुटनीति, नयाँ राजनीतिको संस्कार बसाउन लागेका छौँ । अरुको राष्ट्रवाद कागज र भाषणमा होला । मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ । मेरो देशभक्ति उन्नत विकल्पहरु त्याग्दै मैले रोजेको असाधारण कर्ममा गएर देखिन्छ । मेरो आग्रह छ, नयाँ शक्तिलाई गलाउने, झुकाउने, क्यारिकेचर बनाउने, झुटो बोलेर यसलाई पन्छाउन सकिन्छ कि भन्ने दुःशाहस कसैले नसोच्नुहोला ।


क्लिकमान्डु