किमाथांका सडक: सिगात्से-विराटनगर सम्बन्ध कहिले जोडिएला?

चीन, भारत, बंगलादेश र भुटानसँगको व्यापार सहज हुने



विराटनगर । भारतको जोगवनीबाट विराटनगर र संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्ग अझै निर्माण सम्पन्न भएको छैन । खाँदवारी–किमाथांका १६२ किलोमिटरमध्ये हालसम्म १५९ किलोमिटरमात्र कच्ची ट्रयाक खुलेको छ । बाँकी ३ किमि ट्रायक खुलेपछि यो राजमार्गले पूर्णता पाउनेछ ।

भारत र चीन जोड्ने पूर्वको यो राजमार्गको अब ३ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हो । त्यो ट्रयाक खुलेपछि सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगी व्यवसायीले दुई दशकदेखि देख्दै आएको सपना पूरा हुनेछ ।

उनीहरुले यो नाका पूर्वको औद्योगिक क्षेत्रका लागि वरदान सावित हुने भन्दै दुई दशकदेखि विराटनगर बसेर चीन, भारत, बंगलादेश र भुटानसँग सीघै व्यापार गर्ने सपना देख्दै आएकामा यही वर्ष कम्तिमा सपना साकारको सुरुवात हुनेछ ।

जोगवनीदेखि किमाथांकासम्मको दूरी हो, ३ सय ३३ किलोमिटर । त्यसमध्ये ३ किलोमिटर सडकको ट्रयाक खुल्न बाँकी रहेको कोशी सडक योजना प्रमुख सविन कोइराला बताउँछन् । उनले भने, ‘चालु वर्षभित्रमा उक्त ट्रयाक खोली सक्ने लक्ष्य छ ।’

उत्तर दक्षिण कोशी सडक आयोजनाले भोटखोलाको च्याम्ताङ्गसम्म १ सय ३४ किलोमिटर र किमाथांकाबाट घोङघोप्पासम्म १४ किलोमिटर कच्ची सडक निर्माण भइसकेको जनाएको छ । च्याम्ताङबाट घोङघोप्पासम्म करिब साढे १३ किमि सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । त्यही १३ किमिमध्ये ३ किलोमिटरमात्र सडक खन्न बाँकी रहेको हो । उत्तरतर्फ किमाथांकाबाट दक्षिणतर्फ घोङघोप्पासम्म १४ किलोमिटर खण्डमा ट्रयाक भने खुलिसकेको हो ।

भीर र कडाचट्टान भएकाले किमाथांकाबाट १४ किलोमिटर सडकको डोब खन्न ठेकेदारलाई झण्डै ३ वर्ष लागेको हो । सेनालाई पनि भीर फुटाउन ३ वर्ष बढी लागिसकेको छ । सदरमुकाम खाँदबारीबाट खनिएको सडक चेपुवाको च्याम्ताङसम्म पुगेको छ । योजना प्रमुख कोइरालाले भने ‘बाँकी रहेको ३ किलोमिटरको ट्रयाक चालु वर्ष भित्रमा खोल्ने सेनाले बताएको छ ।’ उक्त ट्रयाक खुलीसकेपछि सडकको स्तरोन्नती गरेर नाका जोडने काम सुरु हुने कोइरालाले बताए ।

यो सडक खण्डलाई सरकारले रातो कितावमा राखेर १६ अर्ब रुपैयाँ लागत लाग्ने उल्लेख गरेको छ । योजना प्रमुख कोइरालाका अनुसार हालसम्म साढे ५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

सडक खण्डको ३ सय ३३ किलोमिटर सडक खण्डमध्ये विराटनगरको जोगबनीदेखि हिलेसम्मको १ सय ४ किलोमिटर सडकमा पुरानै पक्की सडक रहेको छ । हिलेदेखि सभाखोला हुँदै खाँदवारीसम्मको ६८ किलोमिटर सडक पक्की भइसकेको छ ।

खाँदवारीदेखि किमाथाङकासम्म १ सय ६२ किलोमिटर मध्ये फोक्सिन्दा सम्मको ८० किलोमिटर क्षेत्रमा ग्राभेलस्तरको स्तरोन्नती गरेर डबल लेनमा यातायात र ढुवानीका साधन चल्न सुरु भएको कोइरालाको भनाइ छ । उनका अनुसार ट्रयाक खुल्न बाँकी रहेको ३ किलोमिटर क्षेत्रवाहेक करिव ८० किलोमिटर क्षेत्रमा चाँडै ग्राभेल स्तरको स्तरोन्ती सुरु गरिने छ ।

संखुवासभा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्याम उदासका अनुसार फोक्सिन्दादेखि मकालु, भोटखोला र नेताभीर खण्डको सडक क्षेत्रमा ट्रयाक खुले पनि यातायातका साधन गुड्ने स्थिति छैन । ट्रयाक खुलेको कच्ची सडकमा जेनतेन ट्याक्टर गुड्दै आएका थिए । एक्कुवा खोलाको पक्की पुल बाढीले बगाएपछि त्यो पनि हाल बन्द भएको छ ।

यो नाका सञ्चालनमा आएपछि चीनको ठूलो व्यापारिक शहर सिगात्सेसँग विराटनगरको सिधा व्यापारिक नाता जोडिन्छ । यो नाकाको प्रस्तावक मध्येका एक उद्योग संगठन मोरङका पूर्वअध्यक्ष किशोर प्रधानका अनुसार विराटनगरबाट चीनको ठूलो व्यापारिक शहर सिगात्से ४ सय ९६ किलोमिटरमा पर्छ । तातोपानी नाकावाट पूर्वतर्फ सामान ल्याउँदा दूरी करिब ७ सय ५० किलोमिटर नै पर्न जान्छ ।

तुलनात्मक रुपमा नेपाल र चीनका अन्य नाकाहरु भौगोलिक रुपमा विकट, पहिरो जाने खतरा र हिउँ पर्ने सम्भावना भए पनि उक्त मार्गमा हिउँ कम पर्ने र चट्टानी वनावटका कारणले पहिरो जाने सम्भावना कम भएकाले बाह्रै महिना संचालनमा आउन सक्छ ।

किमाथांका नाका सञ्चालनमा आएपछि कोशी प्रदेशको मात्र नभएर भारत, भुटान र बंगलादेशको आर्थिक विकासमा समेत योगदान पुग्ने मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजालको बताउँछन् । रिजाल भन्छन्, ‘यो सडकले कोशी प्रदेशको औधोगिक व्यापारलाई मात्र नभएर यस क्षेत्रको पर्यटन व्यापार विस्तारका साथै यस क्षेत्रबाट उत्पादित वस्तु निर्यात गर्न सहज हुनेछ ।’

जम्मा ३ सय ३३ किलोमिटरको यात्रा पश्चात् चीनको सीमाबाट नेपाल हुँदै भारत प्रवेश गर्न सकिने भएकाले भारतीय पर्यटक र वस्तुको आयात निर्यातका लागि यो सडक अत्यन्त छोटो र सहज हुन्छ भने चीन र भारतको व्यापार विस्तारका लागि यस सडकले पुलको काम गर्ने यहाँका उद्योगी व्यवसायीको विश्वास छ ।

काकडभिट्टाबाट बंगलादेशको बंगलाबन्ध मात्रै ४१ किलोमिटरको दूरीमा रहेकाले नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता गरी बंगलादेशले समेत लाभ लिन सक्छ । भारत र चीन जोड्ने सबैभन्दा नजिकको सीमानाका विराटनगर हुने भएकाले विराटनगरको औद्योगिक र आर्थिक विकासमा सहयोगी सिद्ध हुने छ भने पूर्वाञ्चल क्षेत्रमा चिनियाँ लगानी अकर्षण गर्न यो सडकले भूमिका निर्वाह गर्न सक्ने उद्योगीको विश्वास छ ।


विनोद भण्डारी