मौद्रिक नीतिले सेयर लगानीकर्ता, ब्रोकर उत्साही: कसले के भने ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ता तथा धितोपत्र व्यवसायी उत्साहित भएका छन् । राष्ट्र बैंकले लगानीकर्ताका पूरा माग सम्बोधन गर्न नसके पनि केही महत्वपूर्ण माग सम्बोधन भएको भन्दै लगानीकर्ता तथा ब्रोकरहरु उत्साहित भएका हुन् ।

राष्ट बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरेको छ ।

मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरेको जनाएको छ ।

यस्तै धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको जनाएको छ ।

यस्तै मौद्रिक नीतिले लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने जनाएको छ । मौद्रिक नीतिले गरेको यो व्यवस्ता बजारको हितमा भएको सरोकारवालाको बुझाइ छ ।

धितोपत्र ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले मौद्रिक नीति सेयर बजारका लागि सकारात्मक रुपमा आएको बताए । यसले बजारमा केही थप तरंग ल्याउने उनको बुझाइ छ । नीतिले सेयर धितो कर्जामा रहेको २० करोडको सीमा हटाउँदा बजारका लागि राम्रो हुने उनको भनाइ छ । ‘संस्थागतको क्याप खोलेर राम्रो भयो’ उनले भने, ‘व्यक्तिगत पनि खोलेको भए बजारमा झन राम्रो प्रभाव हुने थियो । तैपनि यसलाई नराम्रो भन्न मिल्दैन ।’

मौद्रिक नीतिमा लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने व्यवस्था छ । यसले पनि बजारलाई थप चलायमान बनाउने उनको भनाइ छ ।

धेरै समयदेखि मार्जिन लेन्डिङ कार्यान्वयनको बिषय उठिरहेको र नीतिमा पनि यो आउँदा बजारमा थप सकारात्मक सन्देश जाने बताए । समग्रमा बजारको हितमा नै नीति आएको उनको बुझाइ छ ।

यता पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सेयर बजारमा मल्हमपट्टी लगाउने उनको बुझाइ । यो मौद्रिक नीतिले लगानीकर्तालाई आशावादी बनाएको उनको भनाइ छ ।

‘नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीति व्यक्तिगत कर्जाको सीमा भने यथावत राखी सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको छ,’ उनले भनिन्, ‘आज सार्वजनिक मौद्रिक नीति साबिकका बर्षहरुको भन्दा उत्साहजनक रहेको छ । बिगत ३ वर्षदेखि निरन्तर घटिरहेको सेयर बजारलाई चालु आवको मौद्रिक नीतिले मल्हमपट्टी लगाउने छ भन्नेमा हामी लगानीकर्ता आशावादी रहेका छौं ।’

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले मौद्रिक नीतिलाई संघले सकारात्मक हिसाबले लिएको बताए । बजारलाई सम्बोधन गर्ने कुरा धेरै भए पनि केही विषय यो पटक परेको उनको भनाइ छ । एकैपटक सबै खुल्ला गर्दा बजारलाई बढी नै राहत हुने सोचेर केही विषयमा सहजता अपनाएको हुनसक्ने उनले बताए ।

नीतिले सेयर धितो कर्जमा रहेको २० करोडको सीमा हटाउँदा व्यक्तिगतको पनि १५ करोडको सीमा हटाउन सकेको भए झनै लगानीकर्तामैत्री नीति हुने उनको बुझाइ छ ।

नीतिगत दर घटाएको, ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिनु कुनै न कुनै रुपमा बजारको हितमा हुने उनको भनाइ छ । लघुवित्त कम्पनीहरूमा राहतका कार्यक्रमहरू आएको र राष्ट्र बैंकले आगामी समीक्षाहरूमा खुकुलो पार्दै जाने अपेक्षा रहेको फुल्लेलले बताए ।

सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा व्यक्तिगत १५ करोडलाई यथावत राखेको राष्ट्र बैंकले संस्थागतको २० करोड हटाएको छ । मौद्रिक नीतिले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १२५ प्रतिशतबाट हटाएर १०० मा ल्याउनुपर्ने लगानीकर्ताको माग रहेको थियो ।


क्लिकमान्डु